काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। कोषको अनुमानअनुसार सन् २०२७ मा आर्थिक वृद्धिदर सामान्य सुधार भई ३.७ प्रतिशत पुग्नेछ।
आईएमएफका अनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहेको अनुमान छ। आगामी दुई वर्ष आर्थिक विस्तार सुस्त रहने देखिएको छ।
त्यस्तै, नेपालमा उपभोक्ता मुद्रास्फीति सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्ने र सन् २०२७ मा बढेर ५.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ। मध्यपूर्वको युद्ध, ऊर्जा आपूर्तिमा अवरोध र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धिले नेपालजस्ता आयातमा निर्भर अर्थतन्त्रमा थप दबाब पार्न सक्ने आईएमएफले औँल्याएको छ।
आईएमएफले सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशत रहने र सन् २०२७ मा ३.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। अमेरिका र भारतको आर्थिक वृद्धि तुलनात्मक रूपमा बलियो रहने अनुमान गरिए पनि मध्यपूर्वको द्वन्द्व, व्यापार तनाव, महँगो ऊर्जा र वित्तीय जोखिमले विश्व अर्थतन्त्रमा चुनौती थप्ने कोषको विश्लेषण छ।
कोषले सार्वजनिक ऋणलाई दिगो स्तरमा राख्न, राजस्वका स्रोत विस्तार गर्न र आर्थिक संकटका बेला प्रभावित तथा कमजोर वर्गलाई लक्षित राहत उपलब्ध गराउन सरकारहरूलाई सुझाव दिएको छ।




प्रतिक्रिया