गुल्मी । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुनः सुरु भएको छ। मंगलबार बिहान मौसम अनुकूल भएपछि नेपाल एयरलाइन्सले काठमाडौं–रेसुङ्गा उडान सञ्चालन गरेको हो।
नेपाल एयरलाइन्सका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेदेखि बिहानको समयमा मौसम प्रतिकूल हुँदा नियमित उडान प्रभावित हुँदै आएको थियो। वर्षायाममा बाक्लो बादल लाग्ने र मौसम खराब हुने कारण निर्धारित तालिकाअनुसार उडान सञ्चालन गर्न कठिनाइ भएको उनले बताए।
रेसुङ्गा विमानस्थलमा हरेक वर्ष वर्षायामका कारण करिब अढाइ महिनासम्म उडान प्रभावित हुने गरेको भए पनि यस वर्ष भने लामो समयसम्म उडान अवरुद्ध भएको हो।
यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले रेसुङ्गा–काठमाडौं रुटमा साताको तीन दिन आइतबार, मंगलबार र शुक्रबार नियमित उडान सञ्चालन गर्दै आएको छ।




प्रतिक्रिया