नुवाकोट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित तथा पुँजीवादी देशहरूको गलत विकास मोडल र कार्बन उत्सर्जनका कारण नेपालजस्ता मुलुकले प्राकृतिक विपद्को ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्।
मंगलबार नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा वाईसीएल नेपालले भोटेकोशी तथा त्रिशूली बाढीपीडितका लागि निर्माण गरेका अस्थायी घर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने बताए।
उनले बाढीपछि उद्धार तथा राहतमा सरकारले ढिलाइ गरेको आरोप लगाउँदै समयमै अन्तर्राष्ट्रिय विज्ञ परिचालन गरिएको भए धेरैको ज्यान बचाउन सकिने दाबी गरे।
बाढीपीडितको स्थायी पुनर्स्थापना र पुनर्निर्माणका लागि राज्यलाई निरन्तर खबरदारी गर्ने प्रतिबद्धता जनाउँदै उनले विपद्का बेला राहत तथा अस्थायी आवास निर्माणमा खटिएको वाईसीएल टोलीलाई धन्यवाद दिए।




प्रतिक्रिया