किन दिए ब्रिटिश प्रधानमन्त्री कीर स्टार्मरले राजीनामा ?

एन्डी बर्नह्याम नयाँ लेबर नेता र प्रधानमन्त्री बन्ने दौडमा अगाडि


लण्डन ।बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले १० डाउनिङ स्ट्रिटबाहिर विशेष सम्बोधन गर्दै आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन् । लामो समयदेखि बढिरहेको राजनीतिक दबाब र पार्टीभित्र देखिएको नेतृत्व परिवर्तनको मागबीच स्टार्मरले प्रधानमन्त्री पद छाड्ने निर्णय गरेका हुन् ।

राजीनामा घोषणा गर्दै स्टार्मरले आफ्नो कार्यकालका सबै निर्णय बेलायतको हित र आफूले माया गर्ने देशलाई केन्द्रमा राखेर गरेको दाबी गरे । उनले आफूले जिम्मेवारी सम्हाल्दा देशका लागि सही बाटो रोज्ने प्रयास गरेको उल्लेख गर्दै भावुक सम्बोधन गरेका थिए ।

विदाइ सम्बोधनका क्रममा स्टार्मरले आफ्नी पत्नी भिक्टोरियालाई आफ्नो जीवनको ‘बलियो आधार’ (रक) भन्दै धन्यवाद व्यक्त गरे । उनले आफ्ना सन्तानहरू आफ्नो गर्व र खुसीको स्रोत भएको उल्लेख गर्दै अबको समय उनीहरूका लागि अझ राम्रो बुवा बन्न समर्पित गर्ने भावना पनि व्यक्त गरे ।

स्टार्मरको राजीनामासँगै सत्तारूढ लेबर पार्टीमा नयाँ नेतृत्वको चर्चा सुरु भएको छ । पार्टीभित्र प्रभावशाली नेताका रूपमा रहेका एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्रीका प्रमुख दाबेदारका रूपमा अगाडि आएका छन् ।

गत साता भएको उपनिर्वाचनमा मेकरफिल्डबाट विजयी भएका बर्नह्याम अब सांसदको शपथ लिन वेस्टमिन्स्टर जाने तयारीमा छन् । उनको पुनरागमनलाई लेबरभित्र नेतृत्व परिवर्तनको निर्णायक चरणका रूपमा हेरिएको छ ।

लेबर पार्टीभित्र बर्नह्यामलाई सहज रूपमा नेतृत्व हस्तान्तरण गर्ने वातावरण बनिरहेको बताइएको छ । पार्टीका धेरै नेताहरूले यस प्रक्रियालाई ‘कोरोनेसन’ अर्थात् प्रतिस्पर्धाविहीन नेतृत्व चयनको सम्भावनाका रूपमा हेरेका छन् ।

यदि प्रक्रिया अपेक्षाअनुसार अघि बढेमा बर्नह्यामले आगामी सेप्टेम्बरको अन्त्यतिर हुने लेबर पार्टी सम्मेलनअघि नै पार्टी नेतृत्व सम्हाल्न सक्नेछन् । त्यसपछि उनी बेलायतको नयाँ प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ ।

तर बर्नह्यामका केही समर्थकहरूले भने नेतृत्व परिवर्तन प्रक्रिया ढिलो भएको भन्दै तत्काल नयाँ नेतृत्व आवश्यक रहेको दबाब दिइरहेका छन् । उनीहरूको तर्क छ– पार्टी र सरकारलाई नयाँ ऊर्जा दिन नेतृत्व हस्तान्तरण चाँडो हुनुपर्छ ।

स्टार्मरको राजीनामाले बेलायती राजनीतिमा नयाँ अध्याय सुरु गरेको छ भने अब लेबर पार्टीले कस्तो नेतृत्व रोज्छ भन्ने विषय विश्व राजनीतिक वृत्तमा समेत चासोको विषय बनेको छ ।

२०८३ असार ८, सोमबार १५:०३ प्रकाशित
ट्रेन्डिङ समाचार