नुवाकोट–धादिङ–रसुवाका सडकमा अझै अवरोध, केही खण्डमा वैकल्पिक मार्ग सञ्चालन,पृथ्वी राजमार्गको विकल्पमा तीन मार्ग


काठमाडौं । बाढी, पहिरो र सडक कटानका कारण प्रभावित नुवाकोट, धादिङ र रसुवाका विभिन्न सडक तथा राजमार्गमा मर्मत, सफाइ र वैकल्पिक मार्ग निर्माणको काम जारी रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही सडक पूर्ण रूपमा सञ्चालनमा आए पनि कतिपय खण्डमा अझै सीमित तथा वैकल्पिक मार्गबाट यातायात सञ्चालन भइरहेको छ।

गल्छी–देवीघाट सडकखण्ड अन्तर्गत ठूलो खोला नजिक सडकमा जम्मा भएको लेदो पन्छाउने काम भइरहेको छ। कोल्पु पुल मर्मतका लागि व्यावसायिक अध्ययन सुरु भई कार्यान्वयनको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ।

देवीघाट–ढुंगे सडकखण्ड भने पूर्ण रूपमा सञ्चालनमा आएको छ। ढुंगे–त्रिशूली खण्डमा भने मर्मत तथा सफाइको काम जारी छ।

त्यस्तै, विदुर–बेत्रावती सडकखण्डको १० किलोमिटरमध्ये ८ किलोमिटर सडक सञ्चालनमा रहेको छ। बाँकी दुई किलोमिटर सडक पूर्ण रूपमा बगेका कारण करिब ०.५ किलोमिटर कडा चट्टान काटेर नयाँ सडक तयार गर्ने काम भइरहेको छ। नयाँ ट्र्याक खोल्ने क्रममा मेसिन दबिने तथा पुरानो ट्र्याकमा दलदलको समस्या भने कायमै रहेको छ।

पृथ्वी राजमार्गमा पनि विभिन्न खण्ड प्रभावित

प्रमुख राजमार्गतर्फ पृथ्वी राजमार्गको कृष्णभीरमा यातायात पूर्ण रूपमा अवरुद्ध रहेको छ। उक्त स्थानमा करिब २५० मिटर ट्र्याक खोलिएको र मर्मत कार्य जारी रहेको छ।

परेवा भीरमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म यातायात बन्द गरी मर्मत भइरहेको छ। शीतल बजारमा सडक भासिएका कारण एकतर्फी यातायात सञ्चालनमा छ।

त्रिभुवन राजमार्गअन्तर्गत पातलेवन नजिक पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ। नागढुंगा सुरुङमार्गबाट भने यातायात सञ्चालन गरिएको छ।

पृथ्वी राजमार्गको विकल्पमा तीन मार्ग

पृथ्वी राजमार्ग प्रभावित भएपछि आबुखैरेनी–काठमाडौं आवतजावतका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ।

वैकल्पिक मार्ग–१: आबुखैरेनी–१२ किलो–मसानेथाँटी–खहरे–निवेल–घ्याम्पेशाल–आरुघाट–सल्यानटार–धादिङबेँसी–परेवाटार–गजुरीटार–मास्टार हुँदै काठमाडौं।

वैकल्पिक मार्ग–२: आबुखैरेनी–१२ किलो–मसानेथाँटी–खहरे–निवेल–घ्याम्पेशाल–आरुघाट–सल्यानटार–धादिङबेँसी–सुनौलाबजार–कल्लेरी–मास्टार हुँदै काठमाडौं।

वैकल्पिक मार्ग–३: आबुखैरेनी–१२ किलो–मसानेथाँटी–खहरे–निवेल–घ्याम्पेशाल–आरुघाट–बेनीघाट हुँदै काठमाडौं।

धादिङ सदरमुकाम पुनः सडक सञ्जालमा

धादिङ सदरमुकाम जोड्ने वैकल्पिक सडकसमेत सञ्चालनमा आएको छ। धादिङबेँसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनटार हुँदै मास्टार (ह्याम्लेट रेस्टुरेन्ट) बाट पृथ्वी राजमार्ग जोड्ने सडक सञ्चालनमा आएको हो। सडक विभागले उक्त सडकमा मर्मत कार्य भने जारी राखेको छ।

रसुवा जोड्ने वैकल्पिक मार्ग मर्मत हुँदै

त्रिशूली–बेत्रावती राजमार्ग क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्गको रूपमा ढिकुरे (मध्यपहाडी राजमार्ग)–फेदीबेँसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–रसुवा–ढनस्वारा–भोर्ले–जिबजिबे–बोगटीटार (पासाङ ल्हामु राजमार्ग) सडक प्रयोगमा ल्याउने तयारी भइरहेको छ।

सडक डिभिजनमार्फत उक्त सडकको मर्मत भइरहेको छ। ट्र्याक मर्मतपछि ग्राभेल गरेर यातायात सञ्चालन गर्ने तयारी रहेको प्राधिकरणले जनाएको छ।

देवीघाट पुल बगेपछि बेलिब्रिज निर्माण

देवीघाटस्थित तादी नदीको पुल बगेपछि सडक विभागले गजुरीबाट ५५ मिटर लामो बेलिब्रिज ढुवानी गरिरहेको छ। नेपाली सेनाले बेलिब्रिज निर्माण तथा जडानको काम सुरु गरेको छ।

यसैबीच पिपलटार–पासाङ ल्हामु राजमार्ग–धमले–निरञ्जना–बाघखोर–हरे–देउराली–कोलपुटार खण्ड सञ्चालनमा रहेको छ। उक्त सडकमा मर्मत कार्य पनि भइरहेको छ।

त्रिशूलीपारि पुग्न वैकल्पिक सडक प्रयोग

त्रिशूली नदीका विभिन्न पुलमा क्षति पुगेपछि नुवाकोटको त्रिशूलीपारिको क्षेत्र जोड्न गल्छी–त्रिशूली पुलपारिबाट नदीको दायाँ किनार हुँदै कल्लेरीटार–कोशीखोला–पिमलटार–दर्शनटार–छत्रेखोला–गौरीबेँसी–त्रिशूली बजार खण्ड सञ्चालनमा ल्याइएको छ। सो सडकमा पनि मर्मत कार्य जारी रहेको छ।

प्राधिकरणको विवरणअनुसार प्रभावित सडकमा तत्काल यातायात सहज बनाउन एकातर्फ मर्मत र अर्कोतर्फ वैकल्पिक मार्ग सञ्चालन तथा पुल निर्माणको काम अघि बढाइएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार