ADVERTISEMENT

रास्वपाद्वारा खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन सुरु गरेको छ। छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै सुनारमाथि उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको जनाएका छन्। पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन अघि बढाउन निर्देशन दिएको छ।

सुनारसँग सम्बन्धित सार्वजनिक अडियोमा महिलालाई धम्की दिएको तथा आर्थिक लेनदेनसम्बन्धी विषय रहेको दाबी गरिएको छ। यद्यपि, आरोपको आधिकारिक पुष्टि हुन बाँकी छ।

रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको जनाएको छ। साथै, राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पार्टीले कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ। सुनारमाथिका आरोपबारे अन्तिम निष्कर्ष भने अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार