काठमाडौं । लगानीकर्ता संघहरूले दोस्रो बजारमा कानुनअनुसार खरिद गरेको सेयर बिक्री गर्नुअघि १५ दिनको पूर्वसूचना दिनुपर्ने व्यवस्था हटाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग माग गरेका छन्।
नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ र सेयर लगानीकर्ता संघ नेपालले संयुक्त रूपमा बुझाएको सुझावपत्रमा सामान्य लगानीकर्तालाई स्वतन्त्र रूपमा सेयर खरिद–बिक्री गर्न दिनुपर्ने माग गरिएको छ।
संघहरूले सामान्य लगानीकर्ताको सेयर बिक्रीमा समय वा परिमाणको अनावश्यक सीमा राख्न नहुने बताएका छन्। तर संस्थापक तथा रणनीतिक लगानीकर्ताले ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा पारदर्शिताका लागि पूर्वसूचना व्यवस्था कायम गर्न सकिने र संस्थापक सेयरको हकमा हालको १५ दिनलाई घटाएर ७ दिनमा सीमित गर्नुपर्ने सुझाव दिएका छन्।
त्यस्तै, ठूलो परिमाणको सेयर कारोबारलाई नियमित आदेश प्रणालीभन्दा अलग गरी ‘ब्लक कारोबार’ वा छुट्टै बिक्री प्रणालीमार्फत पारदर्शी रूपमा सञ्चालन गर्नुपर्ने माग गरिएको छ।
संघहरूले आईपीओको न्यूनतम हिस्सा ३० प्रतिशत कायम गर्नुपर्ने, बोनस तथा हकप्रद सेयरको मूल्य समायोजनमा नेप्से र सीडीएस एन्ड क्लियरिङबीच एकरूपता कायम गर्नुपर्ने र जोखिमअनुसार मार्जिन दर निर्धारण गर्नुपर्ने सुझाव दिएका छन्।
यसैगरी, हालको टी प्लस २/टी प्लस ३ फर्छ्योट प्रणालीलाई क्रमशः टी प्लस १ वा अझ छोटो अवधिमा लैजानुपर्ने तथा सीडीएस एन्ड क्लियरिङ, नेप्से, ब्रोकर र बैंकिङ प्रणालीबीच स्वचालित समन्वय बढाउनुपर्ने माग गरिएको छ।
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष एसपी चौलागाईं र सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले संयुक्त रूपमा सुझावपत्र बुझाएका हुन्।





प्रतिक्रिया