ADVERTISEMENT

नक्कली परीक्षा पास देखाएर लाइसेन्स जारी गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । लिखित तथा प्रयोगात्मक परीक्षा नै नदिएका र अनुत्तीर्ण भएका व्यक्तिलाई उत्तीर्ण भएको देखाएर सवारी चालक अनुमतिपत्र जारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका तत्कालीन कार्यालय प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन प्रमुख तेजनारायण यादवसहित चार कर्मचारी र तीन प्रहरी अधिकारीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अनुसन्धानका क्रममा जापानमा रहेका एक व्यक्तिलाई समेत नेपालमै लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको देखाएर जे–१ वर्गको लाइसेन्स जारी गरिएको खुलेको आयोगले जनाएको छ। त्यस्तै, लिखित परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिको नतिजा संशोधन गरी उत्तीर्ण देखाउने तथा परीक्षा नै नदिएका व्यक्तिलाई परीक्षा दिएको झुटो अभिलेख बनाएर लाइसेन्स जारी गरिएको आरोप छ।

आयोगका अनुसार यसरी जापानमा रहेका एक व्यक्तिसहित १३ जनालाई अनियमित रूपमा जे–१ र जे–२ वर्गका सवारी चालक अनुमतिपत्र जारी गरिएको थियो। सरकारी कागजात तथा अभिलेखमा अनधिकृत रूपमा केरमेट, थपघट र हेरफेर गरी परीक्षाको नतिजासमेत परिवर्तन गरिएको आयोगको निष्कर्ष छ।

मुद्दा दायर गरिएकामा तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, मेकानिकल सुपरभाइजर यादवप्रसाद अर्याल, अधिकृत तुल्सीराम अधिकारी र राजीव अर्याल तथा प्रहरीतर्फ तत्कालीन डीएसपी डिल्लीनारायण पाण्डेय, प्रहरी निरीक्षक गणेश ज्ञवाली र प्रहरी नायब निरीक्षक हुमानन्द खनाल छन्।

यसैबीच, अख्तियारले छुट जग्गा दर्ताको काममा सहजीकरण गरिदिने भन्दै १० लाख रुपैयाँ घुस लिएको आरोपमा काठमाडौं नापी कार्यालय, डिल्लीबजारअन्तर्गत कार्यरत नापी अधिकृत डिलबहादुर वलीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगको टोलीले वलीलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। आयोगले वलीविरुद्ध १० लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबराबर जरिवानाको सजाय मागदाबी गरेको जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार