ADVERTISEMENT

नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोगको बचन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच मेलबर्नमा भेटवार्ता भएको छ । भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध थप सुदृढ बनाउने तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

भेटका क्रममा विदेशमन्त्री वङले नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै उद्धार, प्रारम्भिक पुनर्लाभ र पुनर्निर्माणमा अस्ट्रेलियाको साथ रहने बताइन् । उनले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरिन् । यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि ११ मिलियन डलर सहयोग घोषणा गरेको थियो ।

परराष्ट्रमन्त्री खनालले अस्ट्रेलिया सरकार र जनताबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै संकटका समयमा प्राप्त सहयोगले दुई देशबीचको सम्बन्ध थप बलियो बनाएको बताए ।

भेटमा जलवायु परिवर्तन, कोप–३१, विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली तथा जलवायु–उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।

यस्तै, नेपालमा अस्ट्रेलियाली प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम संस्था र विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस स्थापना गर्ने विषयमा समेत छलफल भएको छ । खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको विद्यार्थी भिसा नीतिमा न्यायोचित र अनुकूल व्यवस्था गर्न आग्रह गरेका थिए ।

दुई देशबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन तथा श्रम गतिशीलताका क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि छलफल भयो । नेपाल–अस्ट्रेलिया सिधा हवाई सम्पर्क स्थापनाको सम्भावनाबारे समेत कुराकानी भएको छ ।

दुवै पक्षले उच्चस्तरीय नियमित आदानप्रदानलाई निरन्तरता दिँदै भएका समझदारीलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न निकट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार