ADVERTISEMENT

शुल्क समायोजन नभएसम्म निजी मेडिकल कलेजले विद्यार्थी भर्ना नगर्ने

काठमाडौं । शिक्षण शुल्क पुनरावलोकन र सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म निजी मेडिकल तथा डेन्टल कलेजहरूले स्नातक (यूजी) र स्नातकोत्तर (पीजी) तहमा विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएका छन् ।

एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्क र सिट संख्यामा पुनरावलोकन गर्न माग गर्दै भर्ना प्रक्रिया अघि नबढाउने जनाएको हो ।

एसोसिएसनले चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार वास्तविक लागत, मुद्रास्फीति र सञ्चालन खर्चका आधारमा शिक्षण शुल्क समायोजन गर्न माग गरेको छ । साथै, आयोगले सिट निर्धारण गर्दा अपनाएको मापदण्ड, मूल्याङ्कन प्रक्रिया र कलेजले प्राप्त गरेको अङ्क २४ घण्टाभित्र सार्वजनिक गर्न आग्रह गरेको छ ।

एसोसिएसनका अनुसार शैक्षिक वर्ष २०७८/७९ देखि शिक्षण शुल्क पुनरावलोकन भएको छैन । यस अवधिमा कर्मचारीको पारिश्रमिक, विद्युत्, इन्धन, उपकरण, प्रयोगशाला र अस्पताल सञ्चालन खर्च बढे पनि शुल्क पुरानै कायम रहेकाले कलेजहरू आर्थिक दबाबमा परेका छन् ।

शुल्क पुनरावलोकनसम्बन्धी कार्यदलले गरेको सिफारिस तथा आयोग र स्वास्थ्य मन्त्रालयसँग भएको सहमतिसमेत कार्यान्वयन नभएको एसोसिएसनको दाबी छ ।

एसोसिएसनले शुल्क र सिट निर्धारणका विषयमा छलफल गर्न चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्वविद्यालय र निजी मेडिकल कलेजका प्रतिनिधिसहितको संयुक्त बैठक तत्काल बोलाउन माग गरेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार