काठमाडौं। नेपाल र भारतका अर्थशास्त्री तथा राजनीतिशास्त्रीहरूले दुई देशबीच आर्थिक गतिविधि विस्तार गर्न संयुक्त लगानी र सहज आपूर्ति सञ्जाल निर्माणमा जोड दिएका छन्।
काठमाडौंमा आयोजित नेपाल–भारत नीति संवादमा सहभागी विज्ञहरूले नेपालको जलविद्युत्, जडिबुटी, कृषि, पर्यटन, औषधि तथा सूचना प्रविधिका क्षेत्रमा भारतीय लगानीको ठूलो सम्भावना रहेको बताएका हुन्।
राजनीतिक विश्लेषक अरुण सुवेदीले नेपालले आफ्नो भूराजनीतिक स्पष्टता कायम गर्दै भारतसँगको सम्बन्धलाई आर्थिक विकासको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सके ठूलो विदेशी लगानी भित्रिने धारणा राख्नुभयो।
त्यस्तै, भारतीय प्राध्यापक डा. निशा तनेजाले जलस्रोत, औषधि, खाद्य उत्पादन र सूचना प्रविधिमा भारतीय लगानीको सम्भावना औंल्याउनुभयो। जेएनयूका प्राध्यापक राजेश खराटले शैक्षिक सम्बन्ध विस्तार गर्न दुवै देशका सीमा क्षेत्रमा अध्ययन केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो।
अर्थशास्त्री डा. पंकज बशिष्ठले नेपालको जलविद्युत् उत्पादन, जडिबुटी प्रशोधन र पर्यटन विकासमा भारतले सहकार्य गर्न सक्ने बताउनुभयो। उहाँले बौद्ध पर्यटन सर्किट निर्माण गरेर पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो।
त्यस्तै, अर्थशास्त्री अनलराज भट्टराईले नेपाल–भारत संयुक्त आर्थिक क्षेत्र निर्माण र सीमापार आपूर्ति सञ्जाल विस्तार गर्न सके दुवै देशको व्यापार तथा उत्पादनमा वृद्धि हुने बताउनुभयो।
विज्ञहरूले नेपाल र भारतबीच लगानी, व्यापार, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न सके दुवै देशले आर्थिक लाभ लिन सक्ने निष्कर्ष निकालेका छन्।




प्रतिक्रिया