काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पत्रकारमाथि भइरहेको धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध मंसिर ९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंअगाडि विरोध प्रदर्शन गर्ने भएको छ।
महासंघले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित धर्ना दिन लागेको काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालले जानकारी दिनुभयो।
समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने, साइबर कानुनको प्रयोगबाट पत्रकारलाई दुःख दिने तथा प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमार्फत सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न खोजिएको भन्दै महासंघले विरोध जनाएको छ।
अध्यक्ष अर्यालले पत्रकारलाई विनाकारण निष्कासन गर्ने, सरकारी तथा निजी सञ्चारमाध्यममा हस्तक्षेप गर्ने र विज्ञापन कटौती गर्ने सरकारी कदमले प्रेस स्वतन्त्रता तथा श्रम अधिकारमाथि असर परेको बताउनुभयो।
महासंघले सरकारलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न, पत्रकार धरपकडका घटनाको छानबिन गर्न र सञ्चार क्षेत्रका समस्या समाधान गर्न माग गरेको छ।
महासंघको केन्द्रीय समितिको सर्कुलरअनुसार मंसिर ९ गते देशभरका जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध कार्यक्रम गर्ने तयारी गरेका छन्।




प्रतिक्रिया