ADVERTISEMENT

रसुवागढी हाइड्रोको उत्पादन ठप्प, १७ अर्ब ७० करोड ऋणमा दबाब

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन ठप्प भएपछि कम्पनीको आम्दानी, नगद प्रवाह र ऋण सेवा क्षमतामा दबाब पर्ने देखिएको छ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार कम्पनीमा दीर्घकालीन तथा अल्पकालीन गरी करिब १७ अर्ब ७० करोड रुपैयाँ ऋण रहेको छ। आयोजना लामो समयसम्म सञ्चालनमा आउन नसके नियमित आम्दानी प्रभावित भई ऋणको ब्याज तथा किस्ता भुक्तानी व्यवस्थापनमा दबाब पर्न सक्ने कम्पनीले जनाएको छ।

बाढीले आयोजनाको बाँधस्थलका बाहिरी संरचना, विद्युत्गृह, साइट कार्यालय, कर्मचारी आवास, सवारीसाधन, हेभी इक्विपमेन्ट, पुल तथा पहुँचमार्गमा क्षति पुर्‍याएको छ। भूमिगत विद्युत्गृहमा लेदो भरिएको तथा इलेक्ट्रोमेकानिकल उपकरण र प्रसारण लाइनका तीन टावरमा पूर्ण क्षति पुगेको कम्पनीले जनाएको छ।

स्याफ्रुबेँसीदेखि आयोजनास्थलसम्मको करिब १६ किलोमिटर सडकखण्डका चार पक्की पुल तथा पहुँचमार्गसमेत क्षतिग्रस्त भएका छन्। सडक र पहुँचमार्ग पुनर्निर्माण नभएसम्म आयोजना पुनःस्थापनाको काम अघि बढाउन कठिन हुने कम्पनीको भनाइ छ।

बाढीबाट भएको क्षतिको बीमा दाबी प्रक्रिया कम्पनीले अघि बढाएको छ। आयोजनाका भौतिक संरचना, मेसिनरी तथा कर्मचारीको बीमा चालु रहेकाले बीमा कम्पनीलाई औपचारिक जानकारी गराएर दाबी प्रक्रिया अघि बढाइएको जनाइएको छ। तर, वास्तविक क्षति र पुनर्निर्माण लागतको विस्तृत मूल्याङ्कनपछि मात्रै बीमाबाट प्राप्त हुने रकमले पुनर्निर्माण खर्च कति धान्ने भन्ने स्पष्ट हुने कम्पनीले जनाएको छ।

आयोजना पुनः सञ्चालनमा आउन लाग्ने समयसमेत प्राविधिक मूल्याङ्कनपछि मात्रै यकिन हुनेछ। त्यसैले बीमा दाबीको टुंगो, पुनर्निर्माण लागत र आयोजना सञ्चालनमा फर्किने समय कम्पनीका लागि तत्कालका प्रमुख वित्तीय चुनौती बनेका छन्।

यसैबीच, बाढीमा आयोजनामा कार्यरत ९२ जना अझै बेपत्ता रहेको कम्पनीले जनाएको छ। खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पर्वतारोही, इन्जिनियर तथा टनेल विज्ञ परिचालन गरिएको छ। खोजीका क्रममा एक कर्मचारीको शव पहिचान भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार