ADVERTISEMENT

उच्च ब्याजदरका १० ऋणपत्र परिपक्व हुँदै, बैंकको लाभांश क्षमता बढ्ने सम्भावना

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेका उच्च ब्याजदरका १० वटा ऋणपत्र चालु आर्थिक वर्ष २०८३/८४ मा परिपक्व हुँदैछन्। ऋणपत्र परिपक्व भएसँगै त्यसका लागि छुट्याइएको क्यापिटल रिडम्सन रिजर्भ फुकुवा हुने भएकाले आगामी वर्ष बैंक तथा वित्तीय संस्थाहरूको लाभांश वितरण क्षमता बढ्न सक्ने देखिएको छ।

यस वर्ष परिपक्व हुने ऋणपत्रमध्ये गुडविल फाइनान्स र आईसीएफसी फाइनान्सका १२ प्रतिशत ब्याजदरका ऋणपत्रसमेत छन्। गुडविलको २५ करोड रुपैयाँको ऋणपत्र चैत ८ गते र आईसीएफसीको २० करोड रुपैयाँको ऋणपत्र फागुन २६ गते परिपक्व हुँदैछ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकको १०.२५ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ, कृषि विकास बैंकको १०.३५ प्रतिशत ब्याजदरको २ अर्ब ५० करोड रुपैयाँ र प्राइम कमर्सियल बैंकको १०.१५ प्रतिशत ब्याजदरको ५ अर्ब रुपैयाँ बराबरका ऋणपत्र पनि यसै वर्ष परिपक्व हुँदैछन्।

यसअघि सिद्धार्थ बैंक, हिमालयन बैंक र एनआईसी एसिया बैंकका ऋणपत्र परिपक्व भइसकेका छन्। यसरी चालु आर्थिक वर्षमा कुल १० वटा ऋणपत्रमध्ये तीनवटा परिपक्व भइसकेका छन् भने सातवटा परिपक्व हुन बाँकी छन्।

ऋणपत्र परिपक्व भएपछि फुकुवा हुने क्यापिटल रिडम्सन रिजर्भले बैंकको पुँजी संरचनामा सहजता ल्याउन सक्छ। पूर्व बैंकर तथा बैंकिङ विज्ञ अनलराज भट्टराईका अनुसार उक्त रकम बैंकको पुँजी पर्याप्तता र क्यापिटल प्लानअनुसार लाभांश वितरण वा पुँजीमै राख्न प्रयोग गर्न सकिन्छ।

तर, ऋणपत्र परिपक्व हुँदैमा सबै बैंकले लाभांश वितरण गर्न पाउने भने होइन। सञ्चित नोक्सानी, वितरणयोग्य नाफा, पुँजी पर्याप्तता र नियामकीय व्यवस्थाले लाभांश क्षमतामा प्रभाव पार्ने भएकाले रिजर्भ फुकुवा हुनु मात्रै लाभांश वितरणको पर्याप्त आधार नहुने विज्ञहरूको भनाइ छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार