ADVERTISEMENT

भारतको २ खर्ब ४० अर्ब सहयोगमा ५६ अर्ब अनुदान, १ खर्ब ८४ अर्ब सहुलियतपूर्ण ऋण

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा घोषणा भएको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेजमा ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले उक्त ऋण भारतीय रुपैयाँमै लिएर भारतीय रुपैयाँमै भुक्तानी गर्न सकिने विकल्प खुला भएको जानकारी दिए।

उनका अनुसार १ खर्ब ८४ अर्ब रुपैयाँको लाइन अफ क्रेडिट एकैपटक ऋण लिएर राख्ने व्यवस्था होइन। विकास निर्माणका काम अघि बढ्दै जाँदा आवश्यकताअनुसार उपयोग गर्न सकिने वित्तीय सुविधा हो।

वाग्लेले विगतमा अमेरिकी डलरमा ऋण लिँदा विनिमय दरमा भएको वृद्धिले नेपालको ऋण दायित्व बढाएको उल्लेख गर्दै भारतीय रुपैयाँमा ऋण लिने र तिर्ने व्यवस्था भए विनिमय दरको जोखिम हट्ने बताए।

उनका अनुसार डलर वा भारुमध्ये कुन मुद्रामा ऋण लिने, ब्याजदर कति हुने, भुक्तानी अवधि र ग्रेस पिरियड कति राख्ने भन्ने विषय प्राविधिक वार्ताबाट टुंगो लाग्नेछ।

नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन आवश्यकता पूरा गर्न तत्काल उपयोग गर्न सकिने गरी १ अर्ब डलर बराबरको लाइन अफ क्रेडिट सुनिश्चित गरिएको पनि उनले बताए।

नेपालको आग्रहमा गत डिसेम्बरदेखि भएको वार्तापछि भारतले भारतीय रुपैयाँमा कारोबार गर्ने विकल्प स्वीकार गरेको वाग्लेको भनाइ छ। उनले यसलाई नेपालको लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै भारत सरकारप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार