काठमाडौं । भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी तथा उद्योगी उत्साहित भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार हाल एकतर्फी रहेको बी३४५ हवाई रुटलाई दुईतर्फी बनाइनेछ। यसबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।
विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार नयाँ रुट सञ्चालनमा आए भैरहवा र पोखरा आउने विमानको उडान समय १५ देखि २० मिनेटसम्म घट्न सक्छ। यसले इन्धन खर्च र सञ्चालन लागत कम गर्नुका साथै वायुसेवा कम्पनीलाई उडानका लागि आकर्षित गर्नेछ।
पर्यटन व्यवसायीहरूले भने रुट सहमतिसँगै यसको प्रभावकारी कार्यान्वयन, उडानका लागि आवश्यक उचाइ, आईएलएस तथा आरएनपीएआर प्रविधि सञ्चालन र अन्य पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताएका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आए रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी र समग्र पश्चिम क्षेत्रको पर्यटन, होटल तथा व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया