काठमाडौं । नेकपा एमालेका सांसद प्रा.डा. पुष्पराज कँडेलले भारतसँग अघि सारिएको ‘विकसित भारत र समुन्नत नेपाल’को साझा भिजनमा नेपालको स्पष्ट कार्ययोजना नरहेको भन्दै सरकारसँग जवाफ माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको छलफलका क्रममा उहाँले भारत भ्रमणबाट फर्किनुभएका अर्थमन्त्रीसँग नेपालको दीर्घकालीन विकास रणनीतिबारे प्रश्न गर्नुभएको हो ।
कँडेलले भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्यसहित विस्तृत योजना बनाएको भए पनि नेपालको ‘समुन्नत नेपाल’ अवधारणाको आधार र कार्यान्वयन योजना स्पष्ट नभएको बताउनुभयो । उहाँले यसअघि अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणालाई निरन्तरता दिनुको सट्टा नयाँ अवधारणा ल्याउनुको औचित्य स्पष्ट पार्न आग्रह गर्नुभयो ।
त्यसैगरी उहाँले भैरहवा विमानस्थलका लागि दोहोरो हवाई रुट, बागडोगरा विमानस्थल, नेपालको १५० किलोमिटर भूमि भारतले किनेको भन्ने सञ्चारमाध्यममा आएका समाचार तथा सुनकोशी–सप्तकोसी र सुनकोशी–कमला आयोजना सम्बन्धमा सरकारको आधिकारिक धारणा माग गर्नुभयो ।
कँडेलले भारतबाट प्राप्त भनिएको १८४ अर्ब रुपैयाँ ऋणको ब्याजदर, भुक्तानी अवधि र अन्य सर्तबारे पनि स्पष्ट जानकारी दिन अर्थमन्त्रीसँग आग्रह गर्नुभयो । भारतीय रुपैयाँमै भुक्तानी गर्ने व्यवस्था सकारात्मक भए पनि ऋणको समग्र वित्तीय पक्ष सार्वजनिक हुनुपर्ने उहाँको भनाइ छ ।




प्रतिक्रिया