ADVERTISEMENT

नेप्से १५ अंकले बढ्यो, ग्लोबल आइएमई बैंकको कारोबार उच्च

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार देखिएको छ । नेप्से परिसूचक १५.३९ अंकले बढेर २ हजार ६३८.९५ विन्दुमा पुगेको छ ।

यस दिन ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा सोल्टी होटल पहिलो स्थानमा रहँदा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ ।

सोल्टी होटलको ३२ करोड १७ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको ३० करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको सेयर मूल्य २.४६ प्रतिशतले बढेर प्रतिकित्ता २८२ रुपैयाँ ८० पैसा पुगेको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेसँगै बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । बैंकले उक्त सेयर प्रतिकित्ता न्यूनतम २५० रुपैयाँका दरले बिक्री खुला गरेको छ ।

समूहगत रूपमा सबैभन्दा धेरै बैंकिङ समूह १.२४ प्रतिशतले बढेको छ । विकास बैंक समूह १.०४ प्रतिशतले उकालो लागेको छ । लघुवित्त र अन्य समूहबाहेक सबै उपसमूहमा वृद्धि देखिएको छ ।

मंगलबार कारोबार भएका कम्पनीमध्ये १६५ वटाको सेयर मूल्य बढ्दा १११ वटाको घटेको छ । एभरेष्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले बढेको छ भने मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार