काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले एमबीएस र एमपीए कार्यक्रमको प्रवेश परीक्षा लोक सेवा आयोगको शाखा अधिकृतस्तरको परीक्षासँगै एउटै दिन तोकेपछि अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ।
आगामी पुस २५ गते बिहान ८ बजेका लागि तोकिएको प्रवेश परीक्षा तत्काल पुनर्निर्धारण गर्न माग गर्दै सङ्गठनले व्यवस्थापन संकायका सहायक डिनसमक्ष ज्ञापनपत्र बुझाएको छ।
लोक सेवा आयोगको शाखा अधिकृतस्तरको लिखित परीक्षा पनि सोही दिन हुने भएकाले एउटै समयमा दुईवटा महत्त्वपूर्ण परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई अन्याय हुने सङ्गठनको भनाइ छ।
अखिल क्रान्तिकारीले प्रवेश परीक्षाको नयाँ मिति सार्वजनिक गर्न र आगामी दिनमा राष्ट्रियस्तरका परीक्षासँग समन्वय गरेर मात्र विश्वविद्यालयका परीक्षा तालिका निर्धारण गर्न माग गरेको छ।
माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिँदै सङ्गठनले त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी व्यवस्थापन संकायले लिनुपर्ने जनाएको छ।




प्रतिक्रिया