ADVERTISEMENT

दशैंमा सुदूरपश्चिम जाने हवाई भाडा चर्कियो, यात्रु मारमा

काठमाडौं । दशैं नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढिरहेका बेला काठमाडौं–धनगढी हवाई भाडा अत्यधिक महँगो भएपछि सुदूरपश्चिम जाने यात्रु समस्यामा परेका छन्।

सडकमार्ग लामो र जोखिमपूर्ण भएकाले हवाई यात्रातर्फ आकर्षित भएका यात्रुहरू महँगो टिकट मूल्यका कारण अन्योलमा परेका हुन्। बाजुरा जाने हिमाल विष्टले काठमाडौं–बाजुरा बस भाडा करिब ५ हजार ६ सय रुपैयाँ रहे पनि सडक बिग्रिए समयमै घर पुग्न कठिन हुने बताए। धनगढीसम्मको हवाई टिकट भने करिब २२ हजार ९ सय रुपैयाँ पुगेपछि आफू दोधारमा परेको उनको भनाइ छ।

त्यस्तै, घरमा बिरामी बुवा रहेकाले तत्काल घर पुग्नुपर्ने प्रदीप कार्कीले पनि हवाई टिकट महँगो भएकाले समस्या परेको बताए। अर्की यात्रु गरिमा शाहाले महँगो भाडाका कारण हवाई टिकट नै रद्द गर्नुपरेको बताइन्।

दशैंको समयमा सुदूरपश्चिम तथा कर्णालीका पहाडी जिल्लामा जाने यात्रुका लागि लामो सडक यात्रा, बिग्रिएको सडक र सीमित हवाई सेवा मुख्य चुनौती बनेका छन्। यात्रुहरूले यातायात भाडा सहज बनाउन, पर्याप्त यातायात व्यवस्था गर्न र सडक सुधार गर्न सरकारसँग माग गरेका छन्।

यसैबीच, बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले हवाई भाडा महँगो नभएको दाबी गर्दै यात्रुहरूलाई आधिकारिक वेबसाइटबाटै भाडादर हेरेर टिकट काट्न आग्रह गरेका छन्।

चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले ‘सुदूर अब दूर नाई’ भन्ने अभिव्यक्ति दिए पनि दशैंमा घर फर्किने यात्रुहरू भने महँगो भाडा र कठिन यात्राका कारण सास्ती खेपिरहेका छन्। उनीहरूको प्रश्न छ—‘सुदूर अब दूर नाई’ भन्ने भनाइ व्यवहारमा कहिले देखिने?

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार