ADVERTISEMENT

राष्ट्र बैंकले रेमिट्यान्स रिपोर्टिङको ढाँचा संशोधन गर्‍यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) कम्पनी तथा विप्रेषण कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले पेश गर्नुपर्ने विभिन्न विवरणको ढाँचा संशोधन गरेको छ।

राष्ट्र बैंकको गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ (दोस्रो संशोधनसहित)’ को विनियम ३३ बमोजिम पेश गर्नुपर्ने विवरणको संशोधित ढाँचा सार्वजनिक गरेको हो। संशोधित व्यवस्था २०८३ कात्तिकदेखि लागू हुने राष्ट्र बैंकले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार परिमार्जित विवरणहरू ‘एफएक्सओएल’ रिपोर्टिङ सिस्टम तथा तोकिएको इमेलमार्फत निर्धारित समयभित्र पेश गर्नुपर्नेछ।

कम्पनी वा संस्थाले आफैं वा सब–एजेन्टमार्फत गरेको इनवार्ड रेमिट्यान्स भुक्तानीको मासिक विवरण महिना सकिएको ७ दिनभित्र बुझाउनुपर्नेछ। यसमा भुक्तानीको माध्यमसम्बन्धी नयाँ महल थप गरिएको छ। कारबाही गरिएका सब–एजेन्ट तथा सब–रिप्रिजेन्टेटिभको विवरण पनि ७ दिनभित्र पेश गर्नुपर्नेछ।

त्यस्तै, देशगत इनवार्ड रेमिट्यान्सको मासिक विवरण महिना सकिएको ७ दिनभित्र र दैनिक कारोबारको विवरण कारोबार भएको ३ दिनभित्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

रेमिट्यान्स कम्पनीका लागि सञ्चालक समितिको विवरण आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र वार्षिक रूपमा पेश गर्नुपर्नेछ। सञ्चालक समितिमा हेरफेर भएमा भने ७ दिनभित्र विवरण बुझाउनुपर्नेछ।

यसैगरी, रेमिट्यान्स कम्पनीहरूले त्रैमासिक अवधि समाप्त भएको १५ दिनभित्र त्रैमासिक वित्तीय विवरण पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार