काठमाडौं ।
प्रिय प्रधानमन्त्रीज्यू,
तपाईंलाई नेपाली जनताले ठूलो आशा, भरोसा र परिवर्तनको अपेक्षासहित सरकारको नेतृत्व सुम्पिएका हुन् । यो केवल प्रधानमन्त्रीको कुर्सीमा बस्ने अवसर होइन, देशको भविष्य बदल्ने ऐतिहासिक जिम्मेवारी हो । तपाईंको काँधमा केवल सरकार चलाउने दायित्व छैन, वर्षौंदेखि निराशा, अभाव, बेरोजगारी, भ्रष्टाचार र कुशासनको चक्रमा फसेका लाखौँ नेपालीको सपना पनि जोडिएको छ ।
त्यसैले प्रधानमन्त्रीज्यू, अहिलेको समय सामाजिक सञ्जालमा जोक्स गर्ने, अनावश्यक तर्कवितर्कमा अल्झिने, कसैलाई चेतावनी दिने र सानातिना विवादमा घण्टौँ बिताउने समय हुँदै होइन । यो त रातदिन नभनी काम गरेर परिणाम निकाल्ने समय हो । इतिहासमा आफ्नो नाम लेखाउने हो भने स्टाटस र टिप्पणीबाट होइन, जनताको जीवनमा देखिने परिवर्तनबाट लेखाउनुपर्नेछ ।
तपाईंले बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा छ– देश प्रयोगशाला होइन । यहाँका नागरिक प्रयोगका वस्तु होइनन् । यो विकास, समृद्धि, न्याय, सुशासन र समान अवसरको सपना साकार पार्नुपर्ने पवित्र भूमि हो । यहाँका नागरिकको जीवनसँग खेलवाड गर्ने छुट कसैलाई छैन, प्रधानमन्त्रीलाई पनि छैन ।
अहिले नेपाली जनता महँगीले आक्रान्त छन् । दैनिक उपभोग्य वस्तुको मूल्यले सर्वसाधारणको भान्सा महँगिएको छ । बिहान–बेलुकाको चुलो कसरी बाल्ने भन्ने चिन्ता निम्न र मध्यम आय भएका परिवारको साझा पीडा बनेको छ । बजारमा मूल्य नियन्त्रण कसरी गर्ने ? कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कसरी कारबाही गर्ने ? उपभोक्ताले सहज रूपमा ग्यासलगायत अत्यावश्यक वस्तु कसरी पाउने ? यस्ता प्रश्नको जवाफ खोज्नुपर्ने बेला होइन र प्रधानमन्त्रीज्यू ?
तपाईंको ध्यान सामाजिक सञ्जालका बहसमा होइन, बजारको वास्तविकतामा केन्द्रित हुनुपर्छ । बजार अनुगमनलाई प्रभावकारी बनाउनुस् । अनुगमनका नाममा औपचारिकता पूरा गर्ने होइन, दोषीलाई कानुनी दायरामा ल्याउनुस् । जनताले राहत महसुस गर्ने गरी मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन गर्नुस् ।
एकपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विदेश जाने युवाको लामो लाइन हेर्नुस् ।
त्यहाँ उभिएका युवाका आँखामा देश छाड्नुपर्दाको बाध्यता, परिवारको भविष्यप्रतिको चिन्ता र स्वदेशमै केही गर्न नपाएको पीडा पढ्न सक्नुहुन्छ । देशमै रोजगारी र अवसर सिर्जना गर्न नसक्दा दैनिक हजारौँ युवा विदेशिनुपर्ने अवस्था छ । उनीहरूलाई सामाजिक सञ्जालमा गरिने व्यङ्ग्य र ठट्टाले रोक्न सक्दैन । उनीहरूलाई रोक्न स्वदेशमै रोजगारी, उद्यम, उत्पादन र सम्मानजनक जीवनको अवसर चाहिन्छ ।
प्रधानमन्त्रीज्यू, कहिलेकाहीँ कुनै सरकारी अस्पतालमा सामान्य सेवाग्राही बनेर पुग्नुस् । सरकारी कार्यालयमा लाइन बसेर सेवा लिनुस् । सार्वजनिक यातायातमा यात्रा गर्नुस् । अस्पतालमा उपचार नपाएर छटपटाइरहेका बिरामी, सरकारी कार्यालयमा काम गराउन दिनौँ धाउन बाध्य सेवाग्राही र रोजगारीको खोजीमा भौँतारिएका युवाको अवस्था आफैँ बुझ्नुस् । तपाईंको सचिवालयले तयार पारेका प्रतिवेदनभन्दा जनताको वास्तविक जीवनले धेरै कुरा सिकाउनेछ ।
तपाईंका सचिवालयका सदस्य र सल्लाहकारहरूलाई पनि ठेक्कापट्टा, नियुक्ति, सरुवा र आयोजनामा आफ्नो प्रभाव देखाउनेभन्दा जनताको आधारभूत आवश्यकता पूरा गर्ने उपाय खोज्न लगाउनुस् । जनताको गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी र सुरक्षालाई सरकारको पहिलो प्राथमिकता बनाउनुस् । विषयगत मन्त्रालयका मन्त्रीहरूलाई सक्रिय पार्नुस् । मन्त्रालयहरूलाई परिणाममुखी बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो ।
सरकारका मन्त्रीहरू गुमनामजस्ता देखिने, मन्त्रालयहरूमा अपेक्षित गति नदेखिने र सचिवालयका केही व्यक्तिहरू नै सबै निर्णयका केन्द्र बन्ने अवस्था सुशासनको आधार हुन सक्दैन । सरकार भनेको प्रधानमन्त्री र उहाँको सचिवालय मात्र होइन । सरकार भनेको मन्त्रिपरिषद्, मन्त्रालय, प्रशासनिक संयन्त्र र समग्र राज्य प्रणाली हो । सबैलाई जिम्मेवार, जवाफदेही र परिणाममुखी बनाउनुस् ।
सुशासनका नाममा विधि र पद्धति कमजोर नबनाउनुस्
तपाईंले बिचौलियामाथि कारबाही गर्ने र अनियमितताविरुद्ध कठोर कदम चाल्ने प्रयास गर्नुभएको छ भने त्यसको स्वागत हुनुपर्छ । भ्रष्टाचार, अवैध कारोबार र राज्यको स्रोत दोहन गर्नेहरूलाई कानुनी दायरामा ल्याउनैपर्छ । उनीहरू जोसुकै हुन्, राजनीतिक पहुँच भएका हुन् वा प्रशासनिक शक्तिकेन्द्रसँग निकट सम्बन्ध राख्नेहरू नै किन नहुन्, निष्पक्ष छानबिन र कानुनी कारबाही हुनुपर्छ ।
तर प्रधानमन्त्रीज्यू, सुशासनको नाममा विधि र पद्धति कमजोर बनाउने छुट कसैलाई छैन । कसैले भनेको कम्पनीलाई ठेक्का दिएन भनेर महानिर्देशक वा आयोजना प्रमुखलाई पक्राउ गर्ने, कसैको स्वार्थ पूरा नभएको आधारमा कर्मचारीमाथि दबाब सिर्जना गर्ने वा राज्यका निकायलाई व्यक्तिगत इच्छाअनुसार परिचालन गर्ने प्रवृत्तिले सुशासन होइन, भय र असुरक्षाको वातावरण सिर्जना गर्छ ।
कुनै अधिकारीमाथि गम्भीर अनियमितता, भ्रष्टाचार वा अवैध आर्थिक कारोबारको विश्वसनीय आधार देखिएको छ भने सम्बन्धित अनुसन्धान निकायलाई निष्पक्ष छानबिन गर्न दिनुस् । प्रमाणले कसुर पुष्टि हुने आधार देखाए कानुनबमोजिम पक्राउ र अभियोजनको प्रक्रिया अघि बढोस् । तर धम्की, पूर्वाग्रह, व्यक्तिगत रिसइबी वा सचिवालयको स्वार्थका आधारमा राज्यका निकाय परिचालन हुनुहुँदैन ।
प्रधानमन्त्रीज्यू, तपाईं राज्य हो भन्ने होइन, राज्यको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको व्यक्ति हो । राज्य तपाईंभन्दा ठूलो छ । संविधान, कानुन, संसद्, न्यायालय, प्रेस र सार्वजनिक प्रशासन लोकतान्त्रिक राज्यका महत्त्वपूर्ण आधार हुन् । ती संस्थाको सम्मान र स्वायत्तता कायम राख्नु तपाईंको पनि दायित्व हो ।
प्रेस र लोकतान्त्रिक संस्थामाथिको व्यवहार तत्काल सच्याउनुस्
अर्को गम्भीर विषय प्रेस र सञ्चारमाध्यमप्रतिको व्यवहार हो । कहिले पत्रकार र सञ्चारकर्मीलाई लक्षित गरी गाडी तेर्साउने शैलीको गतिविधि देखिने, कहिले समाचार कक्षमै पुगेर पत्रकारलाई पक्राउ गर्ने जस्ता घटनाले गम्भीर प्रश्न उठाउँछन् ।
कुनै पत्रकारले समाचार लेखेकै कारण, सरकारको आलोचना गरेकै कारण वा सत्तासँग असहमत विचार राखेकै कारण असुरक्षित महसुस गर्नुपर्ने अवस्था लोकतन्त्रका लागि सुखद होइन । पत्रकारले कानुन उल्लंघन गरेमा कानुनी प्रक्रिया अपनाउन सकिन्छ । तर त्यसको नाममा समाचार कक्षमै पुगेर त्रास सिर्जना गर्ने, प्रेसलाई हतोत्साहित गर्ने वा आलोचनात्मक आवाजलाई नियन्त्रण गर्ने शैली स्वीकार्य हुन सक्दैन ।
प्रेस सरकारको प्रशंसा गर्न बसेको संस्था होइन । प्रेसले सरकारका कमजोरी देखाउँछ, प्रश्न गर्छ, अनियमितता उजागर गर्छ र जनताको आवाज सत्तासम्म पुर्याउँछ । प्रेसलाई शत्रु ठान्ने होइन, लोकतान्त्रिक जवाफदेहिताको साझेदार ठान्नुस् ।
प्रधानमन्त्रीज्यू, लोकतन्त्रमा सरकारको आलोचना सरकारविरुद्धको षड्यन्त्र होइन । आलोचनाबाट सिक्ने क्षमता नै लोकतान्त्रिक नेतृत्वको महत्त्वपूर्ण गुण हो । त्यसैले प्रेस र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने कुनै पनि गतिविधि तत्काल रोक्नुस् । तपाईंको सचिवालयलाई पनि यस विषयमा स्पष्ट निर्देशन दिनुस् ।
सचिवालय सच्याउनुस्, अहंकार र घमण्ड त्याग्नुस्
प्रधानमन्त्रीज्यू, सरकारको सफलतामा प्रधानमन्त्रीको नेतृत्व जति महत्त्वपूर्ण हुन्छ, सचिवालयको कार्यशैली पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । प्रधानमन्त्रीलाई सही सूचना, वस्तुनिष्ठ सुझाव र जनताको वास्तविक अवस्था पुर्याउने काम सचिवालयको हो । तर सचिवालय नै स्वार्थ समूहको प्रभाव, ठेक्कापट्टाको चासो, पहुँचको प्रतिस्पर्धा र शक्ति प्रदर्शनको केन्द्र बन्न थाल्यो भने त्यसको असर सीधै सरकारको छविमा पर्छ ।
तपाईंको वरिपरि बस्ने सबै मानिस तपाईंका हितैषी हुँदैनन् । तपाईंको प्रशंसा गर्ने सबैले देशको हित सोचेका हुन्छन् भन्ने पनि छैन । कतिपयले तपाईंको लोकप्रियता र शक्तिलाई आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाउन खोज्न सक्छन् । त्यसैले प्रधानमन्त्रीले आफ्नो वरिपरि कस्ता मानिस राखेका छन् भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।
तपाईंलाई मन पर्ने कुरा मात्र सुनाउने होइन, गलत निर्णय हुँदा गलत भन्न सक्ने, जनताको दुःख देखाउन सक्ने र कानुनविपरीतका काम रोक्न सक्ने मानिस सचिवालयमा राख्नुस् । ठेकेदार, बिचौलिया र स्वार्थ समूहको प्रभावबाट सचिवालयलाई मुक्त राख्नुस् । राज्यका निकायलाई आफ्नो प्रभाव देखाउने माध्यम होइन, जनताको सेवा गर्ने संस्थाका रूपमा काम गर्न दिनुस् ।
लुई चौधौँसँग जोडिने ‘राज्य मै हुँ’ भन्ने निरंकुश सोचबाट लोकतान्त्रिक नेतृत्व सधैँ टाढा रहनुपर्छ । प्रधानमन्त्रीको पद शक्तिको प्रदर्शन गर्ने ठाउँ होइन, जिम्मेवारी वहन गर्ने ठाउँ हो । प्रधानमन्त्री शासक होइन, जनताको सेवक हो । जनताको करबाट चल्ने राज्य संयन्त्र जनताकै सेवामा परिचालित हुनुपर्छ ।
दुई दिनको बिदा होइन, कामको परिणाम देखिने व्यवस्था चाहिन्छ
सरकारले सातामा दुई दिन बिदा दिने वा कार्यालय समय परिवर्तन गर्ने निर्णय गर्छ भने त्यसको आधार कर्मचारी र नागरिक दुवैको हित हुनुपर्छ । तर प्रधानमन्त्रीज्यू, मुलुकको आर्थिक अवस्था, सेवाप्रवाह र प्रशासनिक परिणामको मूल्याङ्कन नगरी केवल बिदा थप्ने वा कामको समय घटाउने शैलीले जनताको अपेक्षा पूरा गर्दैन ।
सरकारी कर्मचारीलाई पनि कामको परिणामका आधारमा जिम्मेवार बनाउने व्यवस्था गर्नुस् । कर्मचारीलाई अनावश्यक दबाब र त्रासमा राखेर होइन, स्पष्ट लक्ष्य, जिम्मेवारी, स्रोतसाधन र कार्यसम्पादन मूल्याङ्कनका आधारमा परिचालन गर्नुस् । स्थायी सरकारलाई प्रभावकारी बनाउने हो भने राजनीतिक नेतृत्व र प्रशासनबीच विश्वास, समन्वय र सहकार्य आवश्यक छ ।
देश अहिले आराम गर्ने अवस्थामा छैन । अर्थतन्त्रलाई गति दिनुपर्नेछ । विकास निर्माणलाई तीव्रता दिनुपर्नेछ । रोकिएका आयोजना अघि बढाउनुपर्नेछ । सेवा प्रवाह सुधार्नुपर्नेछ । युवालाई देशमै अवसर दिनुपर्नेछ । यसका लागि प्रधानमन्त्रीदेखि वडा कार्यालयसम्म जिम्मेवारी र जवाफदेहिताको संस्कृति बसाल्नुपर्नेछ ।
कहिलेकाहीँ सिंहदरबार छाडेर जनताको झुपडीमा पुग्नुस्
प्रधानमन्त्रीज्यू, तपाईंलाई एउटा आग्रह छ– महिनामा कम्तीमा एक–दुई पटक गाउँघर पुग्नुस् । किसानका खेतबारीमा पुग्नुस् । पसिनाले भिजेका मजदुरका हात हेर्नुस् । बिहानदेखि साँझसम्म श्रम गरेर पनि परिवारको पेट पाल्न संघर्ष गरिरहेका श्रमिकसँग कुरा गर्नुस् । गरिबका झुपडीमा पुग्नुस्, जहाँ साँझको चुलो बल्छ कि बल्दैन भन्ने चिन्ता छ । उपचार नपाएर पीडामा रहेका बिरामी र पढाइका लागि संघर्ष गरिरहेका विद्यार्थीको अवस्था बुझ्नुस् ।
सिंहदरबारको वातानुकूलित कोठामा बसेर देशको वास्तविकता पूर्ण रूपमा बुझ्न सकिँदैन । जनताको पीडा बुझ्न जनताकै बीचमा पुग्नुपर्छ । प्रधानमन्त्रीले जनताको दुःख देखेपछि मात्र सरकारका प्राथमिकता वास्तविक रूपमा बदलिन सक्छन् ।
तपाईंको नेतृत्वमा देशले नयाँ आशा खोजिरहेको छ । त्यो आशालाई निराशामा बदलिन नदिनुस् । जनताले दिएको विश्वासलाई सामाजिक सञ्जालका बहस, राजनीतिक खिचातानी र सचिवालयको शक्ति प्रदर्शनमा खेर नफाल्नुस् ।
प्रधानमन्त्रीज्यू, इतिहास बनाउने अवसर अहिले नै हो
तपाईंलाई जनताले परिवर्तनको अपेक्षासहित जिम्मेवारी दिएका हुन् । त्यसैले अब परिपक्व नेतृत्व देखाउने बेला आएको छ । सबैको कुरा सुन्नुस् । असहमतिलाई सम्मान गर्नुस् । प्रतिपक्षसँग संवाद गर्नुस् । प्रेससँग सहकार्य गर्नुस् । कर्मचारी प्रशासनलाई विश्वासमा लिनुस् । प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्नुस् । निजी क्षेत्रलाई उत्पादन र रोजगारी सिर्जना गर्ने वातावरण दिनुस् ।
अहंकार, घमण्ड, आवेग र प्रतिशोधले देश बन्दैन । देश बनाउन सहकार्य, सहअस्तित्व, समन्वय, धैर्य र स्पष्ट दृष्टिकोण चाहिन्छ । लोकप्रियता क्षणिक हुन सक्छ, तर जनताको जीवनमा देखिने परिणाम दीर्घकालीन हुन्छ ।
प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो सचिवालयलाई जोक्स र खुराफातको अखडा होइन, देश निर्माणको योजना बनाउने केन्द्र बनाउनुस् । सामाजिक सञ्जालमा कसलाई के जवाफ दिने भन्ने होइन, आगामी पाँच वर्षमा नेपाललाई कहाँ पुर्याउने भन्ने बहस चलाउनुस् । कसलाई चेतावनी दिने भन्ने होइन, कुन मन्त्रालयले के परिणाम दिन सकेन भनेर समीक्षा गर्नुस् । कसलाई दबाब दिने भन्ने होइन, जनतालाई कसरी सहज सेवा दिने भनेर सोच्नुस् ।
देशलाई सुशासन चाहिएको छ, तर सुशासनका नाममा मनपरी होइन । देशलाई विकास चाहिएको छ, तर विकासका नाममा स्वार्थ समूहको लाभ होइन । देशलाई बलियो सरकार चाहिएको छ, तर बलियो सरकारका नाममा कमजोर लोकतन्त्र होइन ।
तपाईंले इतिहासमा आफ्नो नाम कसरी लेखाउने भन्ने निर्णय गर्ने समय यही हो । सामाजिक सञ्जालका जोक्स र विवादमा होइन, देशको विकास, समृद्धि र जनताको जीवनस्तर उकास्ने अभियानमा आफ्नो सम्पूर्ण ऊर्जा लगाउनुस् ।
प्रधानमन्त्रीज्यू, देश तपाईंको प्रयोग गर्ने प्रयोगशाला होइन, तपाईंले आफ्नो जीवनको अमूल्य समय समर्पण गरेर बनाउनुपर्ने साझा घर हो । यो देशका नागरिक तपाईंका समर्थक मात्रै होइनन्, आलोचक पनि हुन्, तर सबै नेपाली हुन् । उनीहरूको सपना साझा छ– आफ्नै देशमा सम्मानपूर्वक बाँच्न पाउने, आफ्ना सन्तानलाई यहीँ भविष्य देखाउन पाउने र राज्यबाट न्याय तथा सेवा पाउने ।
त्यसैले अब जोक्स होइन, काम गर्नुस् । चेतावनी होइन, परिणाम दिनुस् । अहंकार होइन, विनम्रता देखाउनुस् । खुराफात होइन, सिर्जनात्मकता देखाउनुस् । शक्ति प्रदर्शन होइन, जनसेवा गर्नुस् ।
नेपाली जनताले तपाईंको स्टाटस होइन, सरकारको परिणाम हेर्न चाहेका छन् । तपाईंको आक्रोश होइन, देशको भविष्य खोजिरहेका छन् । तपाईंको भाषण होइन, आफ्नो जीवनमा परिवर्तन चाहिरहेका छन् ।
इतिहासले तपाईंलाई दिएको यो अवसरलाई देश निर्माणको महान् अभियानमा समर्पित गर्नुस् । भोलि फर्केर हेर्दा तपाईंको कार्यकालमा देशले नयाँ दिशा पाएको रहेछ, युवाले स्वदेशमै भविष्य देख्न पाएका रहेछन्, गरिबले राज्य भएको अनुभूति गरेका रहेछन् र लोकतन्त्र अझ बलियो भएको रहेछ भन्ने अवस्था सिर्जना गर्नुस् ।देश र जनताका लागि अहोरात्र खटिनुस् प्रधानमन्त्रीज्यू । तपाईंको सफलता नै देशको सफलता बनोस् ।




प्रतिक्रिया