काठमाडौं । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामै ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले वार्षिक लक्ष्यभन्दा २ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो।
भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार साउनदेखि कात्तिक १३ गतेसम्म चीनबाट २६ अर्ब १ करोड २३ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन् भने नेपालबाट २८ करोड ६३ लाख रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएका छन्।
यस अवधिमा चीनबाट आयात गरिएका ६ हजार ५०१ वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको छ। दशैंपछि मात्रै १५ दिनमा २ हजार ५७५ वटा ईभी भित्रिएका छन्।
रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट आयात–निर्यात कारोबार बढेको भन्सार कार्यालयले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मार्ग परिवर्तन गरी सयौँ कन्टेनरका सामानसमेत कोरलानाका हुँदै नेपाल भित्रिएका छन्।
गत आर्थिक वर्षमा मुस्ताङ भन्सार कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। नेपाल–चीन उत्तरी कोरलानाका गत वर्ष भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।




प्रतिक्रिया