काठमाडौं । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली प्रहारको घटनाबारे मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो। समितिलाई घटनाको निष्पक्ष छानबिन गरी जतिसक्दो चाँडो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
शनिबार फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन कार्यक्रममा विवाद भएपछि झडप भएको थियो। झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन् भने प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका छन्।
प्रदर्शनकारीले १० वटा मोटरसाइकल जलाउनुका साथै अस्पतालको शिलालेखसमेत तोडफोड गरेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामाको जिम्मेवारीसमेत खोसिएको छ। अस्पताल उद्घाटन कार्यक्रमलाई लिएर नेकपा एमालेले यसअघि नै विरोध जनाउँदै आएको थियो। उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य समीक्षा बाँस्कोटा सहभागी भएकी थिइन्।




प्रतिक्रिया