काठमाडौं । अध्यागमन क्षेत्रमा कार्यरत कर्मचारीको व्यवहार, कार्यशैली र इमानदारीमाथि निरन्तर प्रश्न उठिरहेका बेला अध्यागमन विभागले कर्मचारीको नैतिकता र आचरणगत सुधारका लागि विभिन्न संस्थागत कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। सेवाग्राहीसँगको व्यवहार सुधारदेखि सेवा प्रवाहलाई समयबद्ध, पारदर्शी र जवाफदेही बनाउनेसम्मका कार्यक्रम अघि सार्दै विभागले अध्यागमन प्रशासनको कार्यसंस्कृति बदल्ने प्रयास थालेको हो।
अध्यागमनमा खटिएका कर्मचारी अनियमिततामा मुछिने, सेवाग्राहीलाई अनावश्यक झन्झट दिने तथा विभिन्न प्रकारका सेटिङ र आर्थिक लेनदेनका आरोप लाग्ने गरेका छन्। यस्ता आरोपले विभागको छविमाथि प्रश्न उठिरहेका बेला विभागले कर्मचारीको आचरण सुधारलाई प्राथमिकतामा राखेर नयाँ व्यवस्था लागू गरेको जनाएको छ।
विभागले आफ्ना तथा मातहतका निकायमा कार्यरत कर्मचारीका लागि छुट्टै आचारसंहिता निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। आचारसंहितामा सेवाग्राहीसँग गर्नुपर्ने व्यवहार, कर्मचारीले पालना गर्नुपर्ने नैतिक मूल्य, व्यावसायिक आचरण र जिम्मेवारीका विषय समेटिएका छन्। यसको उद्देश्य कर्मचारीलाई सेवामुखी, मर्यादित र उत्तरदायी बनाउनु रहेको विभागको भनाइ छ।
त्यस्तै, सेवा प्रवाहमा हुने ढिलासुस्ती अन्त्य गर्दै तोकिएको समयभित्र सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल टाइमकार्ड प्रणाली विकास गरी कार्यान्वयनमा ल्याइएको छ। यस प्रणालीले सेवा प्रवाहको समय व्यवस्थापन र कर्मचारीको जिम्मेवारीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
कर्मचारीमा सकारात्मक सोच, सेवाभाव र जिम्मेवारीबोध विकास गर्न विभागले सकारात्मक सोचसम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। अध्यागमनसम्बन्धी कार्यविधिगत व्यवस्थालाई सरल, स्पष्ट र पारदर्शी बनाउने काम पनि अघि बढाइएको विभागले जनाएको छ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभाग र मातहतका निकायबाट प्रदान हुने सेवामा कर्मचारीलाई पूर्ण जिम्मेवारीबोधका साथ इमानदारीपूर्वक खटाउने उद्देश्यले नैतिकता तथा आचरण सुधारका कार्यक्रम लागू गरिएको जानकारी दिए।
तिवारीका अनुसार विभागअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीको कार्यविवरण तयार गरिएको छ। कर्मचारीलाई तोकिएको जिम्मेवारीअनुसार काममा जवाफदेही बनाउने र कार्यसम्पादनको वस्तुनिष्ठ मूल्यांकन गर्ने उद्देश्यले सूचकमा आधारित मूल्यांकन प्रणालीको नीतिगत आधारसमेत तयार पारिएको छ।
अनियमिततामा संलग्नमाथि कारबाहीको प्रक्रिया
विभागले आचरण सुधारका कार्यक्रमसँगै अनियमितता तथा नैतिक आचरणविपरीतका गतिविधिमा संलग्न कर्मचारीमाथि कारबाहीको प्रक्रिया पनि अघि बढाएको जनाएको छ।
विभागका अनुसार अध्यागमनसम्बन्धी नैतिक आचरणविपरीत कार्य गरेको विषयमा एक जना कर्मचारीलाई आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइएको छ। त्यस्तै, अन्य दुई जना कर्मचारीका सम्बन्धमा पनि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको विभागले जनाएको छ।
अध्यागमन प्रशासनलाई पारदर्शी, मर्यादित र सेवाग्राहीमैत्री बनाउने हो भने आचारसंहिता निर्माण र तालिम सञ्चालन मात्रै पर्याप्त हुँदैन। कर्मचारीको व्यवहारमा वास्तविक परिवर्तन, जिम्मेवारीअनुसारको कार्यसम्पादन, अनियमिततामाथि निष्पक्ष कारबाही र सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा सुधार हुनु आवश्यक छ।
विभागले अघि सारेका यी कार्यक्रमको प्रभावकारिता पनि अन्ततः कार्यान्वयनको निरन्तरता, अनुगमन र कारबाहीमा देखिने दृढताले निर्धारण गर्नेछ।




प्रतिक्रिया