काठमाडौं । रुसको निरन्तर ड्रोन आक्रमणका कारण युक्रेनी सैनिकहरू खुला मैदानमा हिँडडुल गर्नसमेत असुरक्षित बनेका छन्। यस्तो अवस्थामा उनीहरूले दशकौँ पुराना ग्यास पाइपलाइनलाई आश्रय र आपूर्ति मार्गका रूपमा प्रयोग गरिरहेका छन्।
युक्रेनको कुपियान्स्क क्षेत्रमा फैलिएको करिब १२९ किलोमिटर लामो पाइपलाइन सञ्जाल अहिले सैनिकहरूको आवागमन र आवश्यक सामग्री ओसारपसार गर्ने माध्यम बनेको छ। करिब चार फिट चौडा पाइपभित्र सैनिकहरू हप्तौँदेखि दुई महिनासम्म बस्न बाध्य छन्।
साँघुरो र अँध्यारो पाइपलाइनभित्र सैनिकहरू घिस्रिएर यात्रा गर्छन्। साना विद्युतीय गाडीमार्फत खाना र गोलाबारुद पुर्याइन्छ भने घाइते सैनिकलाई उद्धार गर्न पनि यही मार्ग प्रयोग गरिन्छ।
पाइपभित्र ताजा हावा र सूर्यको प्रकाश नपुग्ने तथा ग्यासका अवशेष र अक्सिजनको कमीले सैनिकहरूको जीवन जोखिममा परेको छ।
ड्रोन तथा थर्मल इमेजिङ प्रविधिबाट खुला क्षेत्रमा सैनिकको पहिचान गर्न सहज भएपछि युक्रेनले भूमिगत सुरुङ सञ्जाललाई सैन्य आवागमन र आपूर्तिको वैकल्पिक माध्यम बनाउने तयारी गरिरहेको छ।




प्रतिक्रिया