ADVERTISEMENT

७ अर्ब खर्चेर चार हिमतालको पानी घटाइँदै, चार नदीमा बाढी पूर्वसूचना प्रणाली विस्तार गरिने

काठमाडौं । सरकारले हिमताल विस्फोटबाट हुने जोखिम न्यूनीकरण गर्न सात अर्ब रुपैयाँभन्दा बढी खर्चेर चार जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने भएको छ। साथै चार प्रमुख नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने योजना अघि बढाएको छ।

सरकारले मनाङको ठुलागी, संखुवासभाको तल्लो बरुण तथा सोलुखुम्बुको लुम्दिङ च्छो र होङ्गु–२ हिमतालको पानीको सतह घटाउने तयारी गरेको हो। प्रारम्भिक योजनाअनुसार होङ्गु–२ को एक मिटर र अन्य तीन हिमतालको करिब तीन मिटर पानी घटाइनेछ।

‘सञ्जीवनी ग्लोफ’ नाम दिइएको यो परियोजनाअन्तर्गत तल्लो बरुण, अरुण, दूधकोशी र मर्स्याङ्दी नदी करिडोरमा बाढी पूर्वसूचना प्रणालीसमेत स्थापना गरिनेछ। यसबाट चौबीसै घण्टा बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने परियोजनाका लागि करिब ४९.९ मिलियन अमेरिकी डलर अर्थात् साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। यसमध्ये ३६ मिलियन डलर हरित जलवायु कोष र दुई मिलियन डलर यूएनडीपीले सहयोग गर्नेछन्। बाँकी रकम नेपाल सरकारले व्यहोर्नेछ।

हाल हिमतालको पानी घटाउने काम प्रारम्भिक अध्ययन तथा डिजाइनको चरणमा छ। अध्ययन र डिजाइनका लागि करिब एक वर्ष लाग्ने र त्यसपछि मात्र स्थलगत काम सुरु हुने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ।

यस परियोजनाले हिमताल विस्फोटबाट हुन सक्ने बाढीको जोखिम घटाउनुका साथै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षा र सम्भावित जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार