काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफा ६.११ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको भदौ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले १९ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफा १८ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ थियो।
भदौसम्म २० वाणिज्य बैंकले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा कमाएका छन्। यो गत वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशतले बढी हो।
वाणिज्य बैंकमध्ये नबिल बैंकले सबैभन्दा बढी १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ। ग्लोबल आइएमई बैंक १ अर्ब ६९ करोड ४५ लाख रुपैयाँसहित दोस्रो र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १ अर्ब २७ करोड ५८ लाख रुपैयाँसहित तेस्रो स्थानमा छन्। दुई महिनामै एक अर्बभन्दा बढी नाफा कमाउने बैंकको संख्या आठ छ।
नाफा वृद्धिदरका आधारमा हिमालयन बैंक अगाडि देखिएको छ। बैंकको नाफा ५५.१३ प्रतिशतले बढेर ५७ करोड ५१ लाख रुपैयाँ पुगेको छ। सानिमा बैंकको नाफा पनि ४२.१५ प्रतिशतले बढेर १ अर्ब २ करोड ५६ लाख रुपैयाँ पुगेको छ।
यद्यपि, २० वाणिज्य बैंकमध्ये सातवटाको नाफा घटेको छ। सिटिजन्स बैंकको नाफा सबैभन्दा बढी १४.९९ प्रतिशतले घटेर ४७ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। नेपाल बैंकको नाफा १२.४५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० प्रतिशतले घटेको छ।
कर्जा मागमा कमी, निष्क्रिय कर्जाको दबाब, प्रोभिजनिङ खर्च र ब्याजदर घट्दा खुद ब्याज आम्दानीमा परेको असरले बैंकहरूको नाफामा उतारचढाव देखिएको छ। तर, पुरानो कर्जा असुली तथा गैरब्याज आम्दानीमा भएको सुधारले समग्र बैंकिङ क्षेत्रको नाफा बढाउन सहयोग गरेको छ।





प्रतिक्रिया