काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएको छ महिनामा ऊर्जा, विद्युत् प्रसारण तथा वितरण, सिँचाइ र विपद् पूर्वसूचना प्रणालीमा उल्लेख्य प्रगति भएको जनाएको छ।
मन्त्रालयका अनुसार यस अवधिमा थप हजारौँ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ भने विभिन्न प्रसारण लाइन तथा सबस्टेसन निर्माण र सञ्चालनलाई तीव्रता दिइएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार, राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने, नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना तथा अन्तरदेशीय विद्युत् प्रसारण क्षमता विस्तारलाई प्राथमिकता दिइएको बताए।
नेपाल–भारतबीचको सहमतिअनुसार विद्युत् आयात क्षमता एक हजारबाट बढाएर एक हजार चार सय मेगावाट तथा निर्यात क्षमता एक हजार एक सयबाट बढाएर एक हजार छ सय ५० मेगावाट पुर्याउने निर्णय भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, बबई, सिक्टा, बड्कापथ र महाकालीलगायत सिँचाइ आयोजनाका काम अघि बढाइएको छ। मन्त्रालयका अनुसार बाढी पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रमुख नदीको बाढी पूर्वानुमान अवधि तीन दिनबाट बढाएर पाँच दिन पुर्याइएको छ।
मन्त्रालयले नीतिगत सुधार, पूर्वाधार विस्तार, सिँचाइ सुविधा वृद्धि र मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना प्रणालीको सुदृढीकरणलाई छ महिनाका प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।




प्रतिक्रिया