काठमाडौँ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको छैटौँ दिन आज माता कात्यायनीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। धार्मिक मान्यताअनुसार माता कात्यायनीको पूजा गर्नाले रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई सुख, समृद्धि तथा प्रगति प्राप्त हुने विश्वास छ।
पौराणिक कथाअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवतीले पुत्रीका रूपमा जन्म लिएकाले उहाँको नाम कात्यायनी रहन गएको हो। देवी कात्यायनीलाई महिषासुरको वध गर्ने शक्तिस्वरूपा देवीका रूपमा पनि पूजा गरिन्छ।
नवरात्रको छैटौँ दिन भक्तजनहरूले विधिपूर्वक पूजा, मन्त्रजप, देवी स्तोत्र पाठ तथा आरती गरी माता कात्यायनीको आराधना गर्छन्। यस अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठ तथा दसैँघरहरूमा भक्तजनहरूको उपस्थिति रहने गर्दछ।
धार्मिक विश्वासअनुसार माता कात्यायनीको आराधनाले धर्म, अर्थ, काम र मोक्ष गरी चार पुरुषार्थ प्राप्त हुने मान्यता छ।




प्रतिक्रिया