ADVERTISEMENT

बैंकको खराब कर्जा ५.६६ प्रतिशत, वित्त कम्पनीमा ९.८९ प्रतिशत

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कुल खराब कर्जा ५.६६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वित्त कम्पनीको खराब कर्जा सबैभन्दा बढी ९.८९ प्रतिशत रहेको छ । विकास बैंकको ५.७७ र वाणिज्य बैंकको ५.५६ प्रतिशत छ ।

राष्ट्र बैंकको २०८३ भदौ मसान्तसम्मको तथ्यांकअनुसार एक महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९१ अर्ब २३ करोड रुपैयाँले बढेर ८३ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा कुल कर्जा तथा अग्रिम ७० अर्ब ५६ करोड रुपैयाँले बढेर ६० खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप र कर्जा विस्तार भए पनि बैंक तथा वित्तीय संस्थाको तरल कोष भने एक महिनामा १७ अर्ब ९ करोड रुपैयाँले घटेर ६ खर्ब ९२ अर्ब रुपैयाँमा झरेको छ । कर्जा–निक्षेप अनुपात ७१.२१ प्रतिशत रहेको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाको कुल कर्जा नोक्सानी व्यवस्थाको अनुपात ५.७६ प्रतिशत छ । कुल पुँजीकोष अनुपात १२.६४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

समग्रमा निक्षेप र कर्जा प्रवाह बढ्दै गए पनि विशेषगरी वित्त कम्पनीमा खराब कर्जाको उच्च अनुपातले कर्जा असुली र जोखिम व्यवस्थापनमा चुनौती रहेको देखाएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार