काठमाडौँ । भोटेकोशी, कालिगण्डकी, बूढीगण्डकीलगायतका नदीमा आएको बाढी तथा अन्य मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले ५०४ वटा योजना अघि सारेको छ ।
ती योजनाका लागि रु पाँच खर्ब ५९ अर्ब ७२ करोड २७ लाख बजेट स्वीकृत गर्न अर्थ मन्त्रालयमा सिफारिस गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रस्तावित योजनामा सडक, पुल, खानेपानी, सिँचाइ, विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयको पुनर्निर्माणसँगै सञ्चार प्रणालीको विकास, नदी नियन्त्रण र विपद् पूर्वसूचना प्रणालीको आधुनिकीकरणलगायतका कार्यक्रम समेटिएका छन् ।
पूर्वाधार विकासअन्तर्गत सडक पुनर्निर्माणका लागि सबैभन्दा ठूलो बजेट प्रस्ताव गरिएको छ । भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रका सडक पुनर्निर्माण तथा स्तरोन्नतिका लागि छुट्टै बजेट माग गरिएको छ भने अन्य प्रभावित क्षेत्रका सडक पूर्वाधार पुनर्निर्माणका लागि पनि ठूलो रकम प्रस्ताव गरिएको छ ।
त्यसैगरी, शिक्षा, कृषि, वन, ऊर्जा, जलस्रोत, सञ्चार, स्वास्थ्य तथा सुरक्षा निकायअन्तर्गतका पुनर्निर्माण र पुनःस्थापनाका योजनासमेत बजेट प्रस्तावमा समावेश छन् ।
प्राधिकरणका अनुसार प्रस्तावित योजनाहरू तत्काल, मध्यमकालीन र दीर्घकालीन गरी विभिन्न चरणमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि योजनाहरू कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ ।




प्रतिक्रिया