ADVERTISEMENT

दसैंका लागि असोज २३ देखि अग्रिम बस टिकट बुकिङ खुला

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ।

यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। यस वर्ष दसैंमा करिब १० लाख यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ।

बैठकले लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्ने, टिकट काउन्टरका कर्मचारीले परिचयपत्र र युनिफर्म लगाउनुपर्ने तथा यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख राख्नुपर्ने निर्णय गरेको छ।

तोकिएभन्दा बढी भाडा असुल्ने, टिकटमा कालोबजारी तथा यात्रु ठगी गर्ने कार्यमा संलग्नमाथि कानुनी कारबाही गरिने विभागले जनाएको छ। साथै, यात्रुको सुरक्षा र राजमार्गमा हुने अवरोध तथा दुर्घटनाबारे तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने भएको छ।

यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानी अनिवार्य राख्नुपर्ने व्यवस्था पनि गरिएको छ। चाडपर्वका बेला बसपार्क तथा टिकट काउन्टरमा बढ्ने भीड व्यवस्थापनका लागि सुरक्षा निकाय परिचालन गरिने विभागले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार