काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) की वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसबीच भेटवार्ता भएको छ।
भेटमा नेपाल–स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य र सहयोग विस्तारका विषयमा छलफल भएको थियो। सञ्चारमन्त्री तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा सहकार्य थप विस्तार गर्नुपर्ने बताए।
मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको र सूचना प्रविधि क्षेत्रमा लगानी भित्र्याउने वातावरण सहज बन्दै गएको उल्लेख गरे।
भेटका क्रममा वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिइन्। उनले सम्मेलनमा नेपालको प्राथमिकता तथा सम्बन्धित सरोकारवालाका विषयमा समेत जानकारी लिइन्।
यस्तै, ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता र पर्यवेक्षकका रूपमा नेपालको भूमिकाबारे पनि छलफल भएको थियो। ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र अनलाइन अधिकार प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्दै आएको छ।





प्रतिक्रिया