ADVERTISEMENT

भुटानमा ७७० मेगावाटको जलविद्युत् आयोजना बनाउँदै अडानी र डीजीपीसी

काठमाडौँ । भारतको अडानी पावर लिमिटेड र भुटानको सरकारी स्वामित्वको ड्रुक ग्रीन पावर कर्पोरेसन (डीजीपीसी) बीच ७७० मेगावाट क्षमताको चमखारछु–१ जलविद्युत् आयोजना विकास गर्ने सम्झौता भएको छ।

भुटानको झेमगाङ जिल्लास्थित चमखारछु नदीमा निर्माण हुने आयोजना ‘पिकिङ रन अफ रिभर’ मोडलमा विकास गरिनेछ। आयोजनामा अडानी पावरको ४९ प्रतिशत र डीजीपीसीको ५१ प्रतिशत सेयर स्वामित्व रहनेछ। आयोजना ‘बिल्ड, ओन, अपरेट एन्ड ट्रान्सफर’ (बुट) मोडलमा विकास हुनेछ भने यसको कन्सेसन अवधि व्यावसायिक सञ्चालन सुरु भएको मितिदेखि ३० वर्षको हुनेछ।

आयोजनाको निर्माण सन् २०२७ को पहिलो अर्धवार्षिकमा सुरु गर्ने र ग्राउन्डब्रेकिङ भएको ६ वर्षभित्र व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

चमखारछु–१ अडानी पावर र डीजीपीसीबीचको दोस्रो ठूलो जलविद्युत् सहकार्य हो। यसअघि सन् २०२५ सेप्टेम्बरमा दुवै कम्पनीले ५७० मेगावाटको वाङछु जलविद्युत् आयोजना विकाससम्बन्धी सम्झौता गरेका थिए।

चमखारछु–१ आयोजनाबाट भुटानको हिउँद यामको विद्युत् माग पूरा गर्न सहयोग पुग्ने तथा गर्मीमा उत्पादन हुने अतिरिक्त हरित ऊर्जा भारत निर्यात गर्ने योजना छ। यसले भुटान–भारत सीमापार ऊर्जा सहकार्यलाई समेत विस्तार गर्ने अपेक्षा गरिएको छ।

अडानी पावर र डीजीपीसीले सन् २०२५ मेमा भएको ५ हजार मेगावाट जलविद्युत् विकाससम्बन्धी समझदारीपत्रअन्तर्गत थप आयोजनाको सम्भाव्यता तथा विकासका अवसरको मूल्यांकन गरिरहेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार