काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका निकटस्थ व्यक्ति तथा आफन्तका विभिन्न निवासमा छापा मारेको छ।
विभाग तथा प्रधानमन्त्रीनिकट स्रोतका अनुसार विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरासहित नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको निवासमा छापा मारेको हो।
स्रोतका अनुसार जबराका केही आफन्तको घरमा समेत विभागको टोली पुगेको छ। जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको निवासमा पनि छापा मारिएको बताइएको छ।
विभाग स्रोतका अनुसार छापा मार्ने क्रममा जबराका निकटस्थ व्यक्तिका निवासबाट केही महत्वपूर्ण कागजात बरामद गरिएको छ। विभागले अनुसन्धानका क्रममा आवश्यक कागजात तथा अन्य प्रमाण संकलन गरिरहेको स्रोतको भनाइ छ।
यसअघि केही दिन मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई उनकै निवासबाट मध्यरातमा नियन्त्रणमा लिएको थियो। करिब १२ घण्टा नियन्त्रणमा राखेपछि उनलाई छाडिएको थियो।





प्रतिक्रिया