काठमाडौं । नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लासम्म फैलिएको छ। सन् २०२६ को जनवरीदेखि हालसम्म देशभर १० हजार २१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार संक्रमितमध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ। संक्रमणको विस्तार र जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले रोगको निगरानी, परीक्षण तथा उपचारसँगै स्वास्थ्यकर्मीको क्षमता विकास र जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ।
स्क्रब टाइफसको अवस्था र संक्रमणको प्रवृत्तिबारे नियमित जानकारी लिन मन्त्रालयले विभिन्न रोग निगरानी प्रणालीमार्फत अनुगमन गरिरहेको छ। यसका लागि अर्ली वार्निङ एन्ड रिपोर्टिङ सिस्टम (ईडब्ल्यूएआरएस) तथा सर्भिलेन्स आउटब्रेक रेस्पोन्स म्यानेजमेन्ट एन्ड एनालिसिस सिस्टम (एसओआरएमएएस) प्रयोग भइरहेको छ।
संक्रमणको जोखिम बढी भएका क्षेत्रमा आवश्यक परीक्षण सामग्री र औषधिको उपलब्धता सुनिश्चित गर्नसमेत मन्त्रालयले काम गरिरहेको छ। स्क्रब टाइफस परीक्षणका लागि प्रयोग हुने द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा आवश्यकताअनुसार पठाइएको छ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा हाल ५ हजार परीक्षण किट बफर स्टकका रूपमा राखिएको छ। संक्रमण देखिएका क्षेत्रमा बिरामीको उपचारका लागि आवश्यक एन्टिबायोटिकलगायत औषधिको व्यवस्थासमेत गरिएको मन्त्रालयले जनाएको छ।
रोगको समयमै पहिचान र प्रभावकारी उपचार सुनिश्चित गर्न स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई पनि प्राथमिकता दिइएको छ। यसअन्तर्गत स्क्रब टाइफसको निदान तथा बिरामी व्यवस्थापनसम्बन्धी भर्चुअल र प्रत्यक्ष तालिम तथा अभिमुखीकरण सञ्चालन भइरहेका छन्।
महाशाखाका अनुसार असार महिनामा मात्रै करिब एक हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्क्रब टाइफसको निदान, उपचार तथा व्यवस्थापनसम्बन्धी तालिम र अभिमुखीकरण प्रदान गरिएको थियो।
यसैगरी, रोगको जोखिम र रोकथामका उपायबारे सर्वसाधारणलाई जानकारी गराउन राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत स्वास्थ्य शिक्षा तथा जनचेतनामूलक सामग्री प्रसारण भइरहेको छ।
मन्त्रालयले संक्रमण बढी देखिएका क्षेत्रमा रोगको नियमित निगरानी, परीक्षण तथा उपचारको पहुँच विस्तार, आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन र स्थानीय तहसँगको समन्वयलाई निरन्तरता दिएको जनाएको छ।
स्वास्थ्य अधिकारीहरूले स्क्रब टाइफसको संक्रमण फैलिरहेको अवस्थामा रोगको समयमै पहिचान, परीक्षण र उपचारसँगै जोखिमयुक्त क्षेत्रमा निगरानीलाई थप प्रभावकारी बनाउनेतर्फ जोड दिएका छन्।





प्रतिक्रिया