ADVERTISEMENT

भोटेकोशी बाढीमा ज्यान जोखिममा राखेर उद्धारमा खटिए सैनिक


काठमाडौँ।  भोटेकोशी बाढीपछि नेपाली सेनाका उद्धारकर्मीले ज्यानको जोखिम मोलेर खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन भएका हुन्।

बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजी गर्नु उद्धार टोलीका लागि सबैभन्दा चुनौतीपूर्ण बनेको थियो। सुरुङमा लेदो र गेग्रान भरिँदा पानी निकालेर बाटो खुलाएपछि मात्र टोली प्रवेश गर्न सकेको थियो। अँध्यारो र दुर्गन्धित सुरुङमा टर्च तथा वाकी–टकीको सहायताले खोजी गरिएको थियो।

जोखिमका बीच नेपाली सेनाले लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१ र त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा खोज तथा उद्धार गरेको जनाएको छ। माथिल्लो त्रिशूली–१ बाट एक चिनियाँ नागरिकसहित त्रिशूली–३ ‘ए’ बाट दुई कर्मचारीलाई जीवितै उद्धार गरिएको थियो।

सेनाका अनुसार हवाई साधनमार्फत हालसम्म ४ हजार २४२ जनाको उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा ८ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरिएको सेनाले जनाएको छ। बेपत्ता व्यक्तिको खोजी कार्य भने अझै जारी छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार