काठमाडौं । यती एयरलाइन्स लिमिटेडले आर्थिक वर्ष २०२६ मा ५ अर्ब ४७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ९ करोड १० लाख रुपैयाँ बढी हो।
यद्यपि, इन्धनको मूल्यवृद्धि, यात्रु तथा निर्धारित उडानमा आएको कमी र विदेशी मुद्रा ऋणलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा भएको ३२ करोड ७० लाख रुपैयाँको एकपटकको विदेशी विनिमय नोक्सानीका कारण कम्पनीको खुद नाफा घटेर १८ करोड १० लाख रुपैयाँमा सीमित भएको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको खुद नाफा ६४ करोड ८० लाख रुपैयाँ थियो।
कम्पनीको वित्तीय अवस्था भने सुधारिएको देखिएको छ। निजी प्लेसमेन्टमार्फत प्रिमियमसहित २ अर्ब २७ करोड रुपैयाँ पुँजी थपिएपछि ऋण घटाउन तथा विमानका इन्जिन ओभरहोलमा रकम प्रयोग गरिएको छ। यससँगै गियरिङ अनुपात २०२४ को ४.४५ गुणाबाट घटेर २०२६ मा १.४९ गुणामा झरेको छ।
यतीको यात्रु अकुपेन्सी दर २०२६ मा ८२ प्रतिशत पुगेको छ। तर, हवाई इन्धनको मूल्यवृद्धिका कारण भाडा बढ्दा निर्धारित उडान करिब ६ प्रतिशत र यात्रु संख्या करिब ९ प्रतिशतले घटेको छ।
कम्पनीले आगामी दिनमा करिब २ अर्ब १० करोड रुपैयाँ बराबरको आईपीओमार्फत पुँजी जुटाउने तयारी गरेको छ। आईपीओबाट प्राप्त पुँजीपछि कम्पनीको वित्तीय संरचना थप बलियो हुने अपेक्षा गरिएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यती एयरलाइन्सको बैंक कर्जा तथा इस्युअर रेटिङ यथावत् राखेको छ। कम्पनीसँग हाल ७ वटा एटीआर–७२ विमान छन् भने आर्थिक वर्ष २०२५/२६ मा यात्रु संख्याका आधारमा घरेलु बजार हिस्सा करिब २२–२३ प्रतिशत रहेको रेटिङ संस्थाले जनाएको छ।



प्रतिक्रिया