काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई पाँचै वर्ष सत्ता टिकाउन शुभकामना दिएका छन्।
प्रतिनिधिसभाको वर्षे अधिवेशनको समीक्षा गर्दै शुक्रबार उनले सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने अवस्था आएको बताए। संसद्मा पटक–पटक प्रश्न उठाउँदा पनि प्रधानमन्त्री बालेन शाहबाट जवाफ पाउन नसकेको उनको भनाइ थियो।
सांसद राईले आगामी अधिवेशनमा सरकार र सत्तापक्षले प्रतिपक्षका आवाजलाई उचित ढंगले सम्बोधन गर्नुपर्ने बताए। उनले भने, “सरकार र सत्ता पक्षका साथीहरूलाई सत्ता जोगाएर सरकार जोगाएर पाँचै वर्षसम्म टिकाउनुहोस् भन्ने शुभकामना दिन चाहन्छु।”
उनले चालु अधिवेशनमा जनताका धेरै प्रश्न संसद्मा उठाए पनि सरकार प्रमुखबाट पर्याप्त जवाफ नपाएको गुनासो गरे। भोजपुरका जनतासमक्ष उत्साहका साथ फर्किन नसकेको उनको भनाइ थियो।
राईले बहुदलीय संसदीय अभ्यासलाई हल्का रूपमा नलिन सरकारलाई आग्रह गर्दै आगामी अधिवेशनसम्म सरकारको व्यवहार र कार्यशैलीमा सुधार आउनुपर्ने बताए। साथै, सरकारले आफैं आफ्नो सरकार नढाल्नसमेत उनले सुझाव दिए।



प्रतिक्रिया