ADVERTISEMENT

उच्च ऋण र जनशक्ति अभावले नेपाल एयरलाइन्स संकटमा


काठमाडौं । उच्च ब्याजदरको ऋण, जहाज विस्तारमा ढिलाइ र प्राविधिक जनशक्ति अभावका कारण नेपाल वायुसेवा निगम संकटमा परेको निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बताएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा कालाखेतीले वाइडबडीका पाँच जना क्याप्टेनले राजीनामा दिएको जानकारी दिँदै उनीहरूको राजीनामा स्वीकृत भए वाइडबडी सञ्चालनमै समस्या आउन सक्ने बताए।

उनका अनुसार विदेशी वायुसेवाले पाइलट तथा इन्जिनियरलाई बढी पारिश्रमिक दिने भएकाले निगममा दक्ष जनशक्ति टिकाउन कठिन भइरहेको छ। साथै, वाइडबडीको इन्जिन मर्मतका लागि आह्वान गरिएको टेन्डरमा बैंक ग्यारेन्टीसम्बन्धी प्रावधानका कारण बोलपत्रदाता आकर्षित हुन नसक्दा मर्मत कार्य प्रभावित भएको छ।

कालाखेतीले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको उच्च ब्याजदरले निगममाथि ठूलो आर्थिक भार परेको बताए। कोभिडका समयमा समेत लागेको ब्याजका कारण करिब ७ अर्ब रुपैयाँ थप भार परेको उनको भनाइ छ।

फ्लीट विस्तार हुन नसक्दा नेपालको करिब १२०–१३५ अर्ब रुपैयाँको हवाई बजारमा निगमको हिस्सा सीमित रहेको भन्दै उनले जहाज थप्न र निगमको कर्पोरेट पुनर्संरचना गर्न सरकारको सक्रिय हस्तक्षेप आवश्यक रहेको बताए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार