ADVERTISEMENT

इरानमाथि दबाब बढाउँदै अमेरिका, पश्चिम एसियामा तीन एयरक्राफ्ट क्यारियर तैनाथ


काठमाडौं । अमेरिकाले इरानमाथि सम्भावित सैन्य कारबाहीको तयारी तीव्र पार्दै पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति बढाएको छ। अमेरिकाले करिब ९ हजार सैनिकसहित यूएसएस थियोडोर रुजवेल्ट एयरक्राफ्ट क्यारियर यस क्षेत्रमा पठाउने तयारी गरेको छ।

यसअघि नै यूएसएस जर्ज डब्लु बुस र यूएसएस जर्ज वासिङ्टन तैनाथ रहेको अवस्थामा रुजवेल्टको आगमनपछि क्षेत्रमा तीन अमेरिकी एयरक्राफ्ट क्यारियर हुनेछन्।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीको आदेश दिए अमेरिकी सेना त्यसका लागि तयार रहेको बताएका छन्। ट्रम्पले नोभेम्बर ३ को मध्यावधि चुनावपछि इरानमाथिको आक्रमण तीव्र हुन सक्ने संकेत दिएका छन्।

इरानले युद्ध अन्त्यका लागि सात दिने प्रस्ताव गर्दै होर्मुज जलडमरु पुनः खोल्ने र परमाणु कार्यक्रमबारे वार्ता गर्ने प्रस्ताव राखेको थियो। बदलामा इरानले विदेशमा रोक्का रहेका सम्पत्ति फुकुवा र तेल बिक्रीको अनुमति मागेको थियो। तर, ट्रम्पले उक्त प्रस्ताव पर्याप्त नभएको भन्दै अस्वीकार गरेको बताइएको छ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि इरानले पनि इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै जवाफी आक्रमण गर्दै आएको छ। अमेरिकाले इरानको परमाणु क्षमता कमजोर पार्नु आफ्नो प्रमुख उद्देश्य रहेको बताउँदै आएको छ भने इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार