काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै तत्कालीन प्रहरी प्रमुख दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। कार्कीको रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको हो।
सरकारको निर्णयबाट पदमुक्त गरिएका कार्कीले आफूलाई प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत हटाइएको दाबी गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्। उनले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न तथा नयाँ नियुक्त आईजीपी मनोजकुमार केसीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।
यसअघि गत मंसिर ७ गते पनि उक्त रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसीमा चढेको थियो। त्यतिबेला न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ तोकिए पनि नवनियुक्त आईजीपी केसीले रिटसम्बन्धी म्याद बुझेको प्रमाण अदालतमा पेस हुन नसकेपछि सुनुवाइ अघि बढ्न सकेको थिएन।
त्यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो। सोही प्रक्रियाअन्तर्गत विपक्षी बनाइएका पक्षलाई म्याद तामेली र सुनुवाइको प्रक्रिया अघि बढाइएको हो।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले तत्कालीन आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। त्यसपछि सरकारले प्रहरी महानिरीक्षकमा मनोजकुमार केसीलाई नियुक्त गरेको थियो।
अब सर्वोच्च अदालतले कार्कीको दाबी, सरकारको निर्णय र दुवै पक्षका कानुनी आधारमाथि सुनुवाइ गर्नेछ। विशेषगरी नयाँ आईजीपी केसीको नियुक्ति तथा कामकाज रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा अदालतको निर्णयलाई चासोका साथ हेरिएको छ।
कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी भए प्रहरी नेतृत्वको वर्तमान व्यवस्थापनमा कानुनी प्रभाव पर्न सक्नेछ। आदेश जारी नभएमा भने तत्कालका लागि नयाँ आईजीपीको कार्यसम्पादनमा रोक लाग्ने छैन। यद्यपि रिटको अन्तिम निरूपणबाट मात्र पदमुक्त गर्ने सरकारको निर्णयको वैधानिकताबारे अन्तिम टुंगो लाग्नेछ।
यसर्थ आजको सुनुवाइ केवल एक पूर्वआईजीपीको पुनर्बहालीको मागमा सीमित छैन। प्रहरी नेतृत्व परिवर्तनको सरकारी निर्णय कानुनसम्मत थियो वा थिएन भन्ने प्रश्नसमेत सर्वोच्च अदालतको विचाराधीन विषय बनेको छ।




प्रतिक्रिया