काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र विभिन्न माग सम्बोधनका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
महासंघले मंसिर १३ देखि १८ गतेसम्म विभिन्न राजनीतिक दलका कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरेको छ। धर्ना बिहान ११ देखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमअनुसार मंसिर १३ गते रास्वपा, १४ गते नेपाली कांग्रेस, १५ गते एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राप्रपाको कार्यालयमा धर्ना दिइनेछ।
त्यस्तै, मंसिर २० गते काठमाडौंको माइतीघरसहित देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालो पट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिने महासंघले जनाएको छ।
पत्रकारमाथि धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास, पत्रकारको श्रम अधिकार उल्लंघन तथा सञ्चारमाध्यममा अवरोध गर्नेलाई कारबाही नगरिएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ।
महासंघले आफ्ना मागप्रति लिखित ऐक्यबद्धता जनाउने राजनीतिक दलको कार्यालयमा धर्ना नदिने जनाएको छ। दोस्रो चरणको आन्दोलनबाट पनि माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलन घोषणा गरिने महासंघले स्पष्ट पारेको छ।




प्रतिक्रिया