काठमाडौं । प्राकृतिक विपत्ति, कमजोर आर्थिक वृद्धि र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण नेपालको अर्थतन्त्रमा दबाब पर्ने देखिए पनि विप्रेषण, आन्तरिक माग र पुनर्निर्माणले आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ ।
नेपाल राष्ट्र बैंकको विश्लेषणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोले सडक, पुल, जलविद्युत् आयोजना र व्यापारिक पूर्वाधारमा क्षति पुर्याउँदा आर्थिक विस्तार प्रभावित हुन सक्छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धि ४.४३ प्रतिशत रहेको थियो ।
बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणले सिमेन्ट, फलामे छड, निर्माण सामग्री, यातायात तथा खानीजन्य उद्योगमा माग बढाउने राष्ट्र बैंकको अनुमान छ । यसले निर्माण क्षेत्रसँगै औद्योगिक गतिविधिलाई समेत चलायमान बनाउन सक्नेछ ।
त्यस्तै, विप्रेषण आप्रवाहमा वृद्धि, न्यून ब्याजदर र कर्जाको माग विस्तारले निजी लगानी तथा उपभोग बढाउने अपेक्षा गरिएको छ । कृषि उत्पादनमा बाढीको प्रभाव सीमित रहने र अनुकूल मनसुनका कारण कृषि उत्पादनमा समेत सुधार आउने आकलन छ ।
यद्यपि, बाढीका कारण रसुवागढी नाका तथा नेपाल–चीन जोड्ने सडकमा भएको क्षतिले आयात–निर्यात र आपूर्ति व्यवस्थामा असर पार्न सक्ने जोखिम छ । पुनर्निर्माणका लागि निर्माण सामग्रीको आयात बढ्दा व्यापार घाटा र वस्तुको मूल्यमा समेत दबाब पर्न सक्छ ।
राष्ट्र बैंकले पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन, सार्वजनिक पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन र आयोजना निर्माणमा तीव्रता दिन सके अर्थतन्त्रले गति लिने निष्कर्ष निकालेको छ । पुनर्निर्माणमा ढिलाइ भएमा भने बाढीबाट भएको क्षतिको असर लामो समयसम्म आर्थिक गतिविधिमा रहन सक्ने देखिएको छ ।




प्रतिक्रिया