काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सार्वजनिक ऋण दायित्व कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत पुगेको हो।
कार्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ६५ अर्ब रुपैयाँभन्दा बढी सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा कार्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ ऋण प्राप्त गरेको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो।
प्राप्त ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८.७५ प्रतिशत रहेको छ। वार्षिक लक्ष्यको तुलनामा आन्तरिक ऋणतर्फ ३०.४९ प्रतिशत र वैदेशिक ऋणतर्फ ११.६२ प्रतिशत मात्रै प्राप्त भएको छ।
प्रतिवेदनले सरकारको सार्वजनिक ऋण परिचालनमा आन्तरिक ऋणमाथिको निर्भरता बढी रहेको र वैदेशिक ऋण प्राप्तिको गति सुस्त रहेको देखाएको छ।




प्रतिक्रिया