काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जना नेपाली नागरिकलाई मृत घोषणा गर्न सरकारले सिफारिस पाएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बेपत्ताहरूको विवरण यकिन गरी उनीहरूलाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाउन नेपाल सरकारसमक्ष सिफारिस गरेको हो।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट संकलन तथा प्रमाणीकरण भई आएका ३ हजार ९१५ जना नेपाली नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बाढीमा बेपत्ता भएका नेपाली नागरिकको लामो समयसम्म अवस्था अज्ञात रहेपछि उनीहरूको कानुनी हैसियत टुंगो लगाउन सरकारले प्रक्रिया अघि बढाएको हो। सरकारबाट मृत घोषणा भएपछि सम्बन्धित परिवारले कानुनी तथा प्रशासनिक प्रक्रियाअनुसार आवश्यक सेवा, सुविधा र हकअधिकार प्राप्त गर्ने बाटो खुल्नेछ।
बैठकमा सातवटा विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी नागरिकको विवरणसमेत प्रस्तुत गरिएको छ। यससँगै बाढीमा परी बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको विवरण संकलन र प्रमाणीकरणको काम अघि बढाइएको छ।
स्थानीय तहदेखि केन्द्रसम्म विवरण प्रमाणीकरण
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३०) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने कानुनी व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार बेपत्ता नागरिकको विवरण प्रमाणीकरण गरी मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको हो।
स्वदेशी नागरिकको हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो। यसरी प्राप्त विवरणलाई आवश्यक प्रमाणीकरण गरी केन्द्रमा पठाइएको हो।
त्यसैगरी, विदेशी नागरिकको हकमा सम्बन्धित देशको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीका आधारमा दाबी संकलन गरिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसका लागि दुई चरणमा सातदिने सूचना प्रकाशन गरी विवरण माग गरेको थियो।
पूर्वसूचना प्रणालीदेखि वन डढेलो नियन्त्रणसम्मका योजना स्वीकृत
समितिको बैठकले बेपत्ता नागरिकलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णयसँगै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका तीनवटा महत्वपूर्ण नीतिगत दस्तावेजसमेत स्वीकृत गरेको छ।
बैठकले ‘सबैका लागि पूर्वसूचना (अर्ली वार्निङ फर अल) राष्ट्रिय मार्गचित्र, २०८३–२०८७’ स्वीकृत गरेको छ। यस मार्गचित्रले २०८७ सालसम्म नेपालका सबै समुदायमा सम्भावित प्रकोप तथा विपद्सम्बन्धी पूर्वसूचना पुर्याउने लक्ष्य राखेको छ। यसका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालनमा जोड दिइनेछ।
यसैगरी, वन डढेलोको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३’ र ‘कार्ययोजना, २०८३/८४–२०९१/९२’ पनि स्वीकृत गरिएको छ।
त्यस्तै, बढ्दो वायु प्रदूषणबाट उत्पन्न हुने विपद् जोखिमलाई सम्बोधन गर्न ‘वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३–२०८७’ समेत बैठकले स्वीकृत गरेको छ।
बाढीमा बेपत्ता हजारौँ नागरिकको कानुनी अवस्था टुंग्याउने प्रक्रिया र भविष्यमा यस्ता विपद्बाट हुने मानवीय क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सुदृढ गर्ने निर्णयलाई बैठकका महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।




प्रतिक्रिया