काठमाडौं । विश्व एड्स दिवसको अवसरमा एड्स हेल्थकेयर फाउन्डेसन (AHF) नेपालले काठमाडौंमा निःशुल्क सांगीतिक कन्सर्ट आयोजना गर्ने भएको छ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र नेपालमा एचआईभी संक्रमितहरूको राष्ट्रिय सञ्जाल (NAPN) सँगको सहकार्यमा आगामी डिसेम्बर १ (मंगलबार) भृकुटीमण्डपमा कन्सर्ट हुन लागेको हो। अपराह्न ४ बजेदेखि सुरु हुने कार्यक्रममा पूर्ण राई एण्ड दाजुभाइ तथा द एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिनेछन्।
‘एड्स अझै अन्त्य भएको छैन’ भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा सांगीतिक प्रस्तुतिका साथै सांस्कृतिक नृत्यसमेत देखाइनेछ। कार्यक्रममा एचआईभीसम्बन्धी सचेतना, निःशुल्क एचआईभी परीक्षण तथा कन्डम वितरणको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।
AHF नेपालका अनुसार कन्सर्टको मुख्य उद्देश्य एचआईभी रोकथाम, परीक्षण र उपचारबारे जनचेतना अभिवृद्धि गर्नुका साथै एचआईभी संक्रमित व्यक्तिहरूलाई नियमित उपचारको पहुँचमा ल्याउन सहयोग पुर्याउनु हो।
AHF नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिव्यराज जोशीले युवाहरूलाई एचआईभीसम्बन्धी सही जानकारी दिन र सामाजिक लाञ्छना तथा भेदभाव अन्त्य गर्न कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नेपालमा एचआईभीसम्बन्धी ९५–९५–९५ लक्ष्यअन्तर्गत ९१ प्रतिशतले आफ्नो संक्रमण अवस्थाबारे जानकारी पाएका छन् भने ८९ प्रतिशत उपचारको पहुँचमा र ७१ प्रतिशतमा भाइरल लोड नियन्त्रण भएको तथ्यांक आयोजकले सार्वजनिक गरेको छ।
कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। आयोजकले इच्छुक सबैलाई फेसबुक इभेन्ट पेजमार्फत उपस्थिति सुनिश्चित गर्न आग्रह गरेको छ।




प्रतिक्रिया