ADVERTISEMENT

सिंहदरबारको आँखाबाट ओझेलमा जनताको भान्सा : महँगीले थिचिँदै सर्वसाधारण, दुई छाक टार्नै मुस्किल !

काठमाडौं । सिंहदरबारभित्र सरकारका बैठक बसिरहेका छन्, नीतिका बहस भइरहेका छन्, विकास र समृद्धिका योजना बनिरहेका छन्। तर, सिंहदरबारको पर्खालबाहिर आम नागरिकको भान्सामा के भइरहेको छ भन्ने कुरा सायद सरकारको प्राथमिकतामा पर्न सकेको छैन। बजारमा दिनदिनै बढिरहेको मूल्यले सर्वसाधारणको ढाड सेकिरहेको छ। दैनिक उपभोग्य वस्तुदेखि तरकारी, खाद्यान्न, लत्ताकपडा र अत्यावश्यक सेवासम्मको महँगीले नागरिकको जीवनयापन झन् कष्टकर बन्दै गएको छ।

बजारमा निस्कनासाथ खल्ती रित्तिने अवस्था छ। हिजो सामान्य आम्दानीले धानिने घरखर्च आज धान्नै नसकिने अवस्थामा पुगेको छ। आम्दानी बढेको छैन, तर खर्चको ग्राफ भने दिनहुँ उकालो लागिरहेको छ। तलब र ज्यालाले महिना कटाउन मुस्किल परिरहेको छ। निम्न तथा मध्यम आय भएका परिवारका लागि दुई छाकको जोहो गर्नु नै ठूलो चुनौती बन्दै गएको छ। भान्सामा चाहिने सामान्य तरकारी, दाल, चामल, तेल र अन्य उपभोग्य वस्तु किन्नसमेत पटक–पटक हिसाब गर्नुपर्ने अवस्था छ।

महँगीले नागरिकको जीवनस्तर मात्र खस्काएको छैन, उनीहरूको बचत, शिक्षा, स्वास्थ्य र भविष्यप्रतिको योजनासमेत प्रभावित बनाएको छ। बालबालिकाको पढाइ, बिरामी पर्दाको उपचार र घरपरिवारको सामान्य आवश्यकता पूरा गर्नसमेत नागरिकले खर्च कटौती गर्नुपर्ने बाध्यता छ। प्रश्न स्वाभाविक छ– नागरिकले आफ्नो आधारभूत आवश्यकता पूरा गर्नै नसक्ने अवस्था आउँदा सरकार के हेरेर बसिरहेको छ ?

बजारमा मूल्य किन बढिरहेको छ ? कृत्रिम अभाव सिर्जना गरेर कतै व्यापारीले मनपरी मूल्य असुलिरहेका त छैनन् ? बिचौलियाको चलखेल कति छ ? नियमित बजार अनुगमन र मूल्य नियन्त्रणको जिम्मेवारी पाएका सरकारी निकाय किन प्रभावकारी देखिँदैनन् ? यी प्रश्नको जवाफ खोज्ने र नागरिकलाई राहत दिने दायित्व सरकारकै हो।

सरकारको काम केवल सिंहदरबारमा बसेर बैठक गर्नु, निर्णय सुनाउनु र उपलब्धिका विवरण सार्वजनिक गर्नु मात्र होइन। जनताको दैनिक जीवनमा परेको असर बुझ्नु र त्यसको समाधान गर्नु पनि सरकारको उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी हो। बजारमा महँगीले नागरिकको चुलो प्रभावित भइरहँदा सरकारी निकायको मौनता आफैँमा गम्भीर प्रश्न हो।

सिंहदरबारका शासकहरूलाई प्रश्न छ– जनताको भान्सामा चुलो बाल्नै मुस्किल भइरहेको पीडा कहिले देख्नुहुन्छ ? बजारको महँगी नियन्त्रण गर्न कहिले जाग्नुहुन्छ ?

जनतालाई  आश्वासन होइन, राहत चाहिएको छ। बजार अनुगमनको नाममा औपचारिकता होइन, वास्तविक नियन्त्रण चाहिएको छ। कालोबजारी, कृत्रिम मूल्यवृद्धि र बिचौलियाको मनपरी रोक्न प्रभावकारी कदम चाहिएको छ। मूल्य नियन्त्रण, आपूर्ति व्यवस्थापन र नियमित अनुगमनलाई कागजमा होइन, व्यवहारमै उतार्नुपर्छ।

किनकि सरकारको सफलता सिंहदरबारका बैठक र निर्णयले मात्र मापन हुँदैन, जनताको भान्सामा चुलो कति सहजसँग बलिरहेको छ भन्ने कुराले पनि मापन हुन्छ। जनताको चुलो निभ्न लाग्दा सिंहदरबारको बत्ती मात्र बलिरहेर हुँदैन सरकार !

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार