काठमाडौं । पूर्व मुख्य सचिव एकनारायण अर्याललाई पक्राउ गरेपछि प्रहरीले उनको निवासमै लगेर झण्डै दुई घण्टासम्म खानतलासी गरेको छ। पक्राउपछि घरमा पुर्याएर गरिएको लामो खानतलासी र प्रहरीको व्यवहारले परिवारका सदस्यहरू आतंकित र मानसिक दबाबमा परेको परिवारले गुनासो गरेको छ।
मलेसिया जाने कामदार ठगीसँग जोडिएको चार वर्ष पुरानो प्रकरणमा अनुसन्धानका लागि प्रहरीले बिहीबार पूर्व मुख्य सचिव अर्याललाई पक्राउ गरेको हो। प्रहरीले यस प्रकरणमा अर्यालसहित पूर्वमन्त्री, सचिव, सहसचिवलगायत १० जनामाथि अनुसन्धान गरिरहेको जनाएको छ।
अर्याललाई नेपाल–भारत सीमाक्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याएलगत्तै बिहीबार साँझ प्रहरीको टोली उनलाई लिएर उनको निवास पुगेको थियो। परिवारका सदस्यहरूका अनुसार ६–७ जनाको प्रहरी टोलीले अर्याललाई घरमै लगेर खाट, दराज तथा घरका सबै कोठामा खानतलासी गरेको थियो। परिवारका सदस्यहरूले प्रयोग गर्ने दराज तथा अन्य निजी सामानसमेत खोजतलास गरिएको उनीहरूको भनाइ छ।
चार वर्षअघि श्रम मन्त्रालयको सचिव रहँदा गरेको निर्णयसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको अवस्थामा पक्राउपछि घरमै लगेर लामो समयसम्म खानतलासी गरिँदा परिवारका सदस्यहरू आश्चर्यचकित र त्रसित भएको बताउँछन्। उनीहरूका अनुसार घरमा श्रीमती, छोरीहरू, ज्वाइँलगायत आफन्तहरू उपस्थित थिए। तर प्रहरीले परिवारका सदस्यहरूसँग सहज रूपमा कुराकानी गर्नसमेत नदिएको उनीहरूको गुनासो छ।
परिवारका सदस्यहरूका अनुसार प्रहरीको व्यवहारले घरको वातावरण नै तनावपूर्ण बनेको थियो। पूर्व मुख्य सचिव अर्यालले समेत आफूलाई अपराधीसरह व्यवहार गरिएको भन्दै प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। ‘तपाईंहरूले अहिले नै मलाई अपराधीको जस्तो व्यवहार गरिरहनुभएको छ। मैले त्यस्तो कुनै अपराध गरेको छैन,’ अर्यालले प्रहरीसमक्ष आपत्ति जनाएको परिवारको भनाइ छ। जवाफमा एक प्रहरी अधिकृतले ‘यो प्रक्रिया हो’ भन्दै झर्केर बोलेको उनीहरूको आरोप छ।
‘पूर्वाग्रह राखेर अनावश्यक दुःख दिइयो’
अर्यालको परिवारले उनीमाथि भइरहेको अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाउँदै पूर्वाग्रह राखेर अनावश्यक दुःख दिने काम भएको आशंका गरेको छ। परिवारले अनुसन्धानका नाममा व्यक्तिको प्रतिष्ठा, पारिवारिक मर्यादा र मानवोचित व्यवहारलाई समेत ख्याल गर्नुपर्ने बताएको छ।
अर्यालकी पत्नी मायादेवी अर्यालले आफ्ना पति लामो समय निजामती सेवामा रहेर इमानदारीपूर्वक काम गरेको दाबी गर्दै अहिले उनीमाथि भइरहेको व्यवहारले आफूहरूलाई मर्माहत बनाएको बताइन्।
‘उहाँबाट गलत कार्य भएको हामीले कल्पना पनि गर्न सक्दैनौँ। हामीलाई त सधैँ सत्कर्ममा हिँड्नुपर्छ भनेर प्रेरणा दिने उहाँले कसरी त्यस्तो गलत काम गर्नुहुन्छ ? यो हुनै सक्दैन,’ मायादेवीले प्रशासनपोस्टसँग भनिन्।
उनले अनुसन्धानका नाममा अनावश्यक दुःख दिने र पूर्वाग्रहपूर्ण व्यवहार गर्ने काम भएको आशंका गर्दै सम्मानित अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरिन्।
‘उहाँले जीवनभर राष्ट्रसेवामा रहेर काम गर्नुभयो। अहिले जुन किसिमको व्यवहार भइरहेको छ, त्यसले हामीलाई निकै दुःखी बनाएको छ। अदालतले निष्पक्ष रूपमा न्याय दिनेछ भन्ने विश्वास छ,’ उनले भनिन्।
‘कलकत्ता भागेको होइन, भ्रम फैलाइयो’
अर्याल पक्राउ पर्नुअघि भारतको कलकत्ता गएको विषयलाई लिएर उनी भागेको भन्ने किसिमका चर्चा र टिप्पणी सार्वजनिक भएपछि परिवारले त्यसको खण्डन गरेको छ।
अर्यालकी पत्नी मायादेवीले कलकत्ता जाने कार्यक्रम पहिल्यै तय भइसकेको र सोही पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी त्यहाँ गएको बताइन्।
‘उहाँ भागेर कलकत्ता जानुभएको होइन। यसअघि नै कलकत्ता जाने सेड्युल तयार भइसकेको थियो। सोही कार्यक्रमअनुसार उहाँ कलकत्ता जानुभएको हो,’ उनले भनिन्।
उनका अनुसार कलकत्ता जाने कार्यक्रम तय हुँदा अहिले अनुसन्धान भइरहेको प्रकरणबारे अर्याल वा परिवारका अन्य सदस्यलाई जानकारी थिएन। ‘यो प्रकरण अगाडि बढेपछि उहाँ भागेको भन्ने हल्ला फैलाइयो। तर कलकत्ता जाने कार्यक्रम पहिल्यै तय भएको थियो। यो केवल संयोग मात्रै हो,’ मायादेवीले स्पष्ट पारिन्।
जेनजी आन्दोलनपछि मुलुकलाई लिकमा ल्याउन भूमिका खेलेको दाबी
जेनजी आन्दोलनका बेला मुख्य सचिव रहेका अर्यालले आन्दोलनपछिको अस्तव्यस्त परिस्थितिमा राज्यका विभिन्न निकायबीच समन्वय गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन महत्वपूर्ण भूमिका खेलेको परिवारको दाबी छ।
मायादेवीले त्यतिबेलाको कठिन परिस्थितिको स्मरण गर्दै सेना, प्रहरीलगायत राज्यका नेतृत्व तहलाई एकै ठाउँमा ल्याएर समन्वयात्मक भूमिका निर्वाह गर्न अर्यालले नेतृत्व गरेको बताइन्।
‘मुलुक लथालिंग हुन लागेको बेला सेना, प्रहरी सबैको नेतृत्वलाई एकै ठाउँमा ल्याएर एकीकृत रूपमा उहाँले नै नेतृत्व गरी देशलाई जोगाउने र बचाउने काम गर्नुभयो। अहिले उहाँमाथि नै यस्तो अन्याय र प्रहार हुनु दुःखद र दुर्भाग्यपूर्ण छ,’ उनले भनिन्।
उनले थपिन्, ‘सतीले श्राप दिएको देश भन्थे, हो रहेछ जस्तो लाग्छ। राम्रो काम गर्नेलाई नै यस्तै दुःख दिने।’
कागजात, ल्यापटप र पेनड्राइभ नियन्त्रणमा
परिवारका सदस्यहरूका अनुसार झण्डै दुई घण्टासम्म घरमा खानतलासी गरेपछि प्रहरीले केही कागजात, ल्यापटप, पेनड्राइभलगायत सामग्री लिएर गएको थियो।
प्रहरीले अर्याललाई शुक्रबार अदालतमा उपस्थित गराई म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ।
चार वर्षअघिको प्रशासनिक निर्णयसँग जोडिएको प्रकरणमा पूर्व मुख्य सचिवमाथि अनुसन्धान हुनु आफैँमा कानुनी प्रक्रियाको विषय हो। अनुसन्धानमा कोही पनि कानुनभन्दा माथि हुनु हुँदैन। तर अनुसन्धानको प्रक्रिया निष्पक्ष, मर्यादित र पूर्वाग्रहरहित पनि हुनुपर्छ।
अर्कोतर्फ, पक्राउ परेका व्यक्तिको परिवारलाई समेत आतंकित र मानसिक दबाबमा पारिएको भन्ने गुनासो सार्वजनिक भएपछि प्रहरीको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ। अनुसन्धानको नाममा कसैको प्रतिष्ठामाथि अनावश्यक आघात पुग्नु हुँदैन भने कानुनी प्रक्रियामा अवरोध पनि हुनु हुँदैन।
अर्यालको परिवारले आफूहरूमाथि अन्याय भएको दाबी गर्दै न्यायका लागि अदालतको ढोका ढकढक्याउने विश्वास व्यक्त गरेको छ। अब यस प्रकरणमा अनुसन्धानको निष्पक्षता, प्रहरीको कार्यशैली र अर्यालमाथि लगाइएका आरोपको कानुनी परीक्षणले नै वास्तविकता स्पष्ट पार्नेछ।




प्रतिक्रिया